काठमाडाैँ । बहुप्रतिक्षित चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा एक कार्यक्रमबिच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले कलेज लेबलका युवाहरूको कलेज र होस्टेल जीवनका अनुभव तथा तिनका विविध घटनाक्रमलाई देखाएको छ। ट्रेलरमा जीवनका रमाइला क्षणहरू मात्र नभई चुनौतीहरूलाई पनि पर्दामा देखाइएको छ।
यस चलचित्रबाट चर्चित टिकटकर पारस बम ठकुरी (कुल ब्वाय)ले डेब्यू गरेका छन् । ट्रेलरमा सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत लाई मुख्य भुमिकामा देख्न सकिन्छ। चलचित्रमा अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ खलपात्रकाे भूमिकामा देखिएका छन्।
सम्मान इन्टरटेन्टमेन्ट र आरोनकन फिल्मस् प्रा.लि.को संयुक्त ब्यानरमा बनेको यो चलचित्र फागुन २३ गते प्रदर्शनमा आँउदैछ। बहुचर्चित तथा सफल मानिएको चलचित्र ‘होस्टेल’को सिक्वेल रहेको यस चलचित्रमा अघिल्लो शृङ्खलाबाट अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत दर्जनौँ कलाकार उदाएका थिए र अहिले चलचित्र क्षेत्रमा स्थापित छन् । ‘होस्टेल ३’ले पनि नयाँ कलाकारलाई स्थापित गर्ने सङ्केत गरेको छ।
चलचित्रलाई दुई दशकदेखि म्युजिक भिडिओ निर्देशनमा सक्रिय सशान कँडेलले निर्देशन गरेका हुन्। माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेकाे यस चलिचत्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्।
चलचित्रकाे कार्यकारी निर्माता मा शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री छन्। चलचित्रमा अर्जुन तिवारीको छायाङ्कन, विकास दाहालकाे सम्पादन रहेको छ भने हिमाल केसीले द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत तथा प्रवीण सिंह र रोशन विश्वकर्माको काेरीयाेग्राफी गरेका छन्।
ट्रेलरमा आकर्षक दृश्य, रोमाञ्चक कथा र युवा उत्सुकता झल्काउने विभिन्न दृश्यले दर्शकमाझ प्रतीक्षा बढाएको छ। युवा पुस्ताको वर्तमान र अघिल्लो पुस्ताको विगतलाई स्मरण गराउन ट्रेलर सफल देखिन्छ । ट्रेलर हेरिसकेपछि ‘होस्टेल ३’ले अघिल्ला सिरिजको जस्तै युवा पुस्तालाई आकर्षित गर्ने अपेक्षा गर्न सकिन्छ।
प्रतिक्रिया