नयाँ दिल्ली। दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रगतिमा बाधा पुर्याउन जिम्मेवार देश र गतिविधिहरूबारे दक्षिण एसियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले शुक्रबार जनाएको छ ।
देशको नाम स्पष्टसँग नलिईकन विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पाकिस्तानका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधा भएको सङ्केत गरे। साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै प्रवक्ताले भने, “दक्षिण एसियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार छन् ।”
दक्षिण एसियाली समूहको पुनरुत्थानका लागि बङ्गलादेशको नयाँ दबाबले छलफल सुरु गरेपछि यो भनाइ आएको हो । विदेश मन्त्री जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच मस्कटमा भएको बैठकमा सार्कबारे छलफल भएको प्रवक्ता जैसवालले खुलासा गरे ।
“सार्क छलफलका लागि आयो कि भएन भन्ने विषयमा । हो, विदेश मन्त्रीले मस्कटमा बङ्गलादेशका विदेश सल्लाहकारसँग भेट गर्दा परराष्ट्र मामिला बैठकमा बङ्गलादेश पक्षले यो मुद्दा उठाएको थियो”, जैसवालले भने । गत हप्ता ओमानमा भएको हिन्द महासागर सम्मेलनको साइड लाइनमा छलफल भएको थियो ।
बैठकमा विदेश मन्त्री जयशङ्करले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता रहेकाे कुरा व्यक्त गरे । “विदेशन्त्रीले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने कुरा महत्त्वपूर्ण रहेको बताउनुभयो”, जैसवालले ब्रिफिङमा भने ।
ओमानमा भएको सम्मेलनमा दुई पक्षले आपसी चिन्ता र चासोका विभिन्न द्विपक्षीय मुद्दामा छलफल गर्नुभएको जयशङ्करले बैठकको बारेमा जानकारी दिए । साथै उनले वार्ता दुई देशबीचको द्विपक्षीय सम्बन्ध र बहु–क्षेत्रीय प्राविधिक र आर्थिक सहयोगका लागि बङ्गालको खाडी पहल (बिमस्टेक) मा केन्द्रित रहेको बताए ।
“बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद हुसैनसँग भेट गरेँ, कुराकानी हाम्रो द्विपक्षीय सम्बन्धका साथै बिमस्टेकमा केन्द्रित थियो”, जयशङ्करले एक्समा लेखेका छन ।
बङ्गलादेशका विदेश मामिला सल्लाहकारले गङ्गा जल सन्धिको नवीकरणका लागि छलफल सुरु गर्ने महत्त्वमाथि जोड दिए। उनले सार्क स्थायी समितिको बैठकको महत्त्वमाथि पनि प्रकाश पार्दै यस सन्दर्भमा भारत सरकारलाई विचार गर्न अनुरोध गरे ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) दक्षिण एसियामा राज्यहरूको क्षेत्रीय अन्तर सरकारी सङ्गठन र भू–राजनीतिक सङ्घ हो । यसका सदस्य राष्ट्रहरू अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का हुन् ।
प्रतिक्रिया