ताजा अपडेट »

परराष्ट्रमन्त्री डा.राणा जेनेभा प्रस्थान गर्ने

शुक्रबार, ०९ फागुन २०८१, २० : ०४
20 Shares
शुक्रबार, ०९ फागुन २०८१
20 Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन भोलि (फागुन १० गते) स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै गर्ने भएकी छिन् ।

उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुनेछ । मन्त्री डा राणाले फागुन १२ गते उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीसँगै संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तरराष्ट्रिय सङ्गठनका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग समेत भेटवार्ता गर्ने छिन् ।

परराष्ट्रमन्त्री डा राणाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ को कार्यकालका लागि नेपालको उम्मेदवारीमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूबाट समर्थन जुटाउन पहल गर्ने छिन् ।

उनले परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।