ताजा अपडेट »

प्रदुषण बढ्दै गईरहेका बेला बुटवलमा प्रदुषण अभिमुखिकरण

शुक्रबार, ०९ फागुन २०८१, १४ : ४८
52 Shares
शुक्रबार, ०९ फागुन २०८१
52 Shares

बुटवल । पछिल्लो समय वायु प्रदुषण बढ्दै गईरहेका बेला बुटवलमा प्रदुषण अभिमुखिकरण तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । सवारी परिक्षण कार्यालय बुटवलको आयोजना तथा बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएशनको सहकार्यमा शुक्रबार मैनाबगरमा कार्यक्रम गरीएको हो । 

कार्यक्रममा सवारी परिक्षण कार्यालय बुटवलका प्रमुख रोशन कुमार देवले वायु प्रदूषणको प्रमुख कारक तत्व सवारी साधनबाट निस्कने कालो धुवाँलाई नियन्त्रण गर्न प्रदूषण परीक्षण जरुरी रहेको बताए । जथाभावी कल कारखाना सञ्चालन, सवारी साधनको बढ्दो प्रयोग र निर्माण कार्यले वायु प्रदुषण बढ्दै गएकोले यसलाई रोक्न सबैको सहकार्य आबश्यक पर्ने उनले बताए । 

सवारी परिक्षण जाँच आबश्यकता र महत्वबारे प्रस्तुती राख्दै उनले मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सवारी धनिले हरेक ६/६ महिनामा आफ्नो सवारीको अवस्था जाँच गराउनुपर्ने बताए । आफूले सावारीमा प्रयोग गर्दै आएको डिजल, पेट्रोलको गुणस्तरमासमेत ध्यान दिन उनले आग्रह गरे । पहिलो चरणमा सचेतनामुलक कार्यक्रम गरीएको र दोस्रो चरणमा ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सडकमै सवारीसाधनको प्रदूषण परीक्षण शिविर सञ्चालन गर्ने तयारी भएको कार्यालय प्रमुख देवले बताए ।

कार्यक्रममा जितगढी हेल्थ केयर प्रालिका डा.मदन केसीले प्रदूषणका कारण मानव स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन गम्भीर खालका असर देखिन थालेको बताए । वायु प्रदूषणको उच्च जोखिममा बालबालिका, ज्येष्ठ नागरिक, दमरोगी, मुटु रोगका बिरामीहरू, क्यान्सर रोगी, वाथरोगीहरु रहेको उनको भनाई थियो । प्रदूषणकै कारण आँखा रातो हुने, चिलाउने, छालाको एलर्जी लगायतका समस्यासमेत बढ्दै भएको डा.केसीले बताए । 

यस्तै बुटवल अटो ईन्जिनियरिङ्ग एशोसिएशनका अध्यक्ष प्रेम गौचनले बढ्दो प्रदुषण नियन्त्रणका लागि सहकार्य गर्न तयार रहेको बताए । यस्ता कार्यक्रमहरुले प्रदूषण नियन्त्रमा थोरै भएपनि सहयोग पुग्ने विस्वास व्यक्त गरे । साथै उनले पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनलाई कम चलाउन आग्रह मात्रै नगरेर वायु प्रदूषणबारे दीर्घकालीन सोच बनाइ अघि बढ्नुपर्ने बताए । 

480786380_1826099571499310_8520177094458072627_n

उक्त कार्यक्रममा यस क्षेत्रका वर्कसप सञ्चालनक र त्यहाँ काम गर्ने श्रमिकहरुको सहभागिता रहेको थियो । सवारी परिक्षण कार्यालयका मेकानिकल ईन्जिनियर कमल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारी साधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ ।

जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चार पाङ्ग्रे सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ । 

तीन पाङ्ग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४।५ प्रतिशत (वाइ भोल्युमं) हुनुपर्छ । दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ ।

सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ । सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी)  अधिकतम ६५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।