ताजा अपडेट »

नेपाली छात्रा प्रकृतिको शंकास्पद मृत्युपछि ओडिसाबाट जोगवनी हुँदै फर्किए ८२ विद्यार्थी

शुक्रबार, ०९ फागुन २०८१, १४ : ११
26 Shares
शुक्रबार, ०९ फागुन २०८१
26 Shares

विराटनगर । ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी०मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि नेपाली विद्यार्थी धमाधम घर फर्किन थालेका छन् । कलेज प्रशासनको ज्यादतीका कारण असुरक्षित महसुस गरेर घर फर्केको विद्यार्थीहरूले बताएका छन् ।
 
जोगवनी नाकाबाट मात्रै ८३ जना विद्यार्थी घर फर्किएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । जोगवनी नाका हुँदै मोरङका ४१, सप्तरीका १४, सुनसरीका १५, काठमाडौँ र सिराहाका ३–३ जना फर्केको प्रमुख जिल्ला अधिकारी यादवको भनाइ छ । यस्तै सर्लाही र धनुषाका २र२ जना, ललितपुर र उदयपुरका १–१ जना र झापाका एक विद्यार्थी यही नाका हुँदै फर्केको उनले जानकारी दिए ।
 
बिहीबार विराटनगरको जोगवनी नाकामा भेटिएका विद्यार्थीहरूले सुरक्षाको ग्यारेन्टी नभएसम्म पढ्न जान नसकिने बताए । प्रकृतिको शंकास्पद मृत्युको घटनालाई दबाउन खोजेपछि आफूहरूले विरोध प्रदर्शन गरेको नेपाली विद्यार्थीको भनाइ छ ।

 आन्दोलन गरेको भन्दै कलेज प्रशासनले होस्टल खाली गर्न यातनासहित दबाब दिएकाले अब तत्कालै गएर पढ्न नसकिने विद्यार्थी आदित्य अग्रवालले बताए । ‘केआईआईटीमा २ हजार २५ सय नेपाली विद्यार्थी पढ्छौँ । यो घटनापछि ९५ प्रतिशत नेपाली विद्यार्थी घर फर्किसकेका छौँ,’ उनले भने, ‘बाँकी ५ प्रतिशतचाहिँ रेलको टिकट नपाएका र तत्कालै फर्कने पैसा पनि नभएकाले डर–त्रासमै बसिरहेका छन् । उनीहरूको तत्काल नै नेपाल सरकारले उद्धार गर्नुपर्छ ।’
 
दोषीलाई कारबाही गर्नुपर्छ भनेर आफूहरूले आवाज उठाएपछि तुरुन्त कलेजको मासिक शुल्क तिर्न दबाब दिँदै नतिरे नाङ्गै पठाउँछौँ भनेर समेत धम्क्याएको उनले बताए । घटनाको अनुसन्धान गर्न माग गर्दा आफूहरूलाई कलेज प्रशासनबाट धम्क्याउने काम भएको अर्का विद्यार्र्थी उत्कर्ष श्रेष्ठले बताए । ‘घटनापछि फाउन्डरसँग विवाद भएको थियो,’ श्रेष्ठले भने, ‘त्यसको भोलिपल्ट एकै पटक होस्टल खाली गर्न भन्दै धम्की आयो । ढुक्क भएर तत्काल नै पढ्ने वातावरण नभएकाले अब फेरि भारत जान सक्ने अवस्था छैन ।’

सरकारले नै आफूहरूको सुरक्षा र ढुक्कसँग पढ्न पाउने वातावरण सिर्जना गरिदिनुपर्ने श्रेष्ठले बताए । प्रकृतिकै कोठाको छेउमा बस्ने गरेकी अनुष्का साहका अनुसार प्रकृतिले आत्महत्या गरेको कलेज प्रशासनले थाहा पाएको ४ घण्टासम्म कसैलाई खबर नगरेपछि विद्यार्थी आक्रोशित भएका थिए । ‘प्रकृति र मेरो वल्लो–पल्लो कोठा हो,’ उनले भनिन्, ‘४ घण्टासम्म मैले पनि खबर पाइनँ । पहिला पनि यस्ता घटना दबाउन कलेजले प्रयास गरेको भनेर बेलाबेलामा हल्ला चल्थ्यो । त्यसैले दोषीलाई कारबाही गर्न माग राखेका थियौँ ।’

घटना भएको भोलिपल्ट बिहान १०÷१५ जना पुलिसले आफूहरूलाई होस्टलबाट लखेटेको अनुष्काले बताइन् । ५ मिनेटभित्र होस्टल खाली गर, नत्र पिटेर निकाल्छौँ भन्दै धम्क्याएको उनको भनाइ छ । ‘युनिभर्सिटीको फैसला हो भनेर हामीलाई निकाले । धेरै दाइहरू पुलिसको कुटाइबाट घाइते हुनुभएको छ । अभिभावकहरूले अब त्यहाँ पढ्न नजान भनेका छन् । अब सुरक्षाको ग्यारेन्टी नभएसम्म जान सकिँदैन,’ उनले भनिन् ।

दबाबका कारण कलेजले माफी मागे पनि पढ्न जान सक्ने अवस्था नरहेको अर्का एक विद्यार्थीले बताए । ‘म काम पनि गर्दैछु । दुई हप्तापछि जान्छु,’ ती विद्यार्थीले भने, ‘तर पढ्न जान सक्दिनँ, कामका लागि जाने हो ।’ उनले तत्कालै काम गर्न जानु परेकाले आफ्नो नाम नलेखिदिन पनि आग्रह गरे । स्थानीय गुन्डालाई बोलाएर कुटपिटसमेत गरेकाले विद्यार्थी असुरक्षित रहेको ती विद्यार्थी बताउँछन् ।

शंकास्पद अवस्थामा लम्साल मृत फेला परेपछि कलेजमा अध्ययनरत विद्यार्र्थी विरोध प्रदर्शनमा उत्रिएका थिए । त्यसपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई होस्टलबाट निकालेको थियो । भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । उनको शब ल्याएर परिवारले दाहसंस्कार समेत गरिसकेका छन् ।

जोगवनी नाका हुँदै फर्केका विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङले नेपाल प्रहरीको गाडीमा विराटनगरसम्म ल्याइदिने गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।