बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बुटवल-गोरुसिङ्गे खण्ड बिस्तारका लागि रुख कटानको काम सुरु भएको छ । सडक किनारको क्षेत्र खाली गराउनुपर्ने भएकाले अहिले रुख काट्ने अभियान सुरु गरेको बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलका प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् ।
सडक विस्तारका क्रममा एकसाथ चार वटा पुल निर्माणको कामसमेत हुँदै गरेको र सडक किनारका रुख काट्ने र विद्युतको पोल सार्ने काम भइरहेको उनले जानकारी दिइन् । बुटवल–गोरुसिङ्गे सडक खण्ड निर्माणका क्रममा सडकको मापदण्डभित्र परेका करिब ७ हजार रुख काटिने भएका छन् ।
हाल रुपन्देहीको सैनामैना नगरपालिका-११, सालझन्डी, बाँसगढी र रामापुर क्षेत्रबाट रुख कटानको काम सुरु गरिएको हो । आयोजनाले करिब ७ हजार रुख कटान गर्दा ७० हजार रुख रोप्ने भएको छ । एउटा रुख कटान बराबर १० वटा रुख रोप्ने शर्त बमोजिम ७० हजार रुख रोपिने आयोजना प्रमुख न्यौपानेको भनाइ छ । सडक किनारमा रहेका करिव ७ हजार रूख काट्न सडक विभागले दुई महिनाअघि नै स्वीकृति दिइसकेको थियो ।
सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्रीहरू ठाउँ-ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, पुल बनाउने र अन्डरपास हुने स्थानको पुनः माटो परीक्षण गर्ने लगायतका काम प्रथम चरणमै सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।
बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड ६२ वर्षपछि विस्तारको काम हुन लागेको हो । सडक विस्तार गर्दा अहिलेको पिच नभत्काइकन काम गर्ने तयारी गरिएको छ । चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेभीले उक्त सडक विस्तार निर्माणका लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा गत असार १३ गते ठेक्का सम्झौता गरेको थियो ।
आयोजनाका अनुसार ५० किलोमिटर सडक दुई चरणमा २५/२५ किलोमिटर गरी विस्तार गर्न लागिएको छ । सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदल यात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ‘ओभरहेड ब्रिज’, वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने छ । सम्झौता भएको मितिले ३ वर्षमा यो योजना सम्पन्न गर्नुपर्ने छ ।
प्रतिक्रिया