जलनका विरामीहरु पहिले पहिले नभएका होइनन् । तर उपचार केन्द्रसम्म आउँदैनन् थिए । पछिल्लो समय मिडियाको प्रभाव, मानिसको स्वास्थ्य सेवा बहन गर्ने क्षमता पनि बढ्दै गएकाले विरामीको संख्या बढी देखिएको हो ।
तर समस्या पूरानै हो । हामीसँग एकिन तथ्यांक छैन् । किनभने राष्ट्रियस्तरमा जलन सम्बन्धि अनुसन्धान कमै भएका छन् । अहिलेसम्म पनि २००८ तिरका डाटाहरुमा निर्भर रहनु परेको छ । त्यही डाटाका आधारमा भन्ने हो भने वर्षेनी ५१ हजार जना अस्पताल गएर नै उपचार गर्नुपर्ने खालको जलन हुने र २१ सय भन्दा बढीले ज्यान गुमाउने गरेका छन् ।
अर्को तथ्याङक हेर्दा नेपालमा जतिपनि अपाङगताहरु छन् त्यसको पाँच प्रतिशत चाहीं जलनबाट नै भएको देखिन्छ । जलनको उपचार धेरै ठाउँमा उपलब्ध छैन् । समुदायस्तरमा पनि जलनको प्रारम्भिक व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा सीप विकास भइसकेको छैन् । जलनका बिरामीहरु धेरैजसोे काठमाडौंमै आइपुग्नुपर्ने अवस्था छ ।
काठमाडौमा पनि औंलामा गणना गर्न सकिने अस्पतालहरु छन् । त्यसमै निर्भर हुनुपर्नेछ । समूदायमा कार्यरत स्वास्थ्यकर्मीमा जलन कसरी व्यवस्थापन गर्ने त्यसको पूर्णरुपले जानकारी नभएकाले प्रारम्भिक अवस्थाको उपचार अन्योलमा छ । तर केही अस्पतालबाट उपचार भइरहेको छ । वीर अस्पताल, टिचिङ, कान्ति वाल अस्पताल, सुश्मा कोइराला मेमोरियल, कीर्तिपुर अस्पताल, काठमाडौं मेडिकल कलेज जस्ता अस्पतालहरुमा जलनका विरामीहरुले सेवा पाइरहेका छन् ।
काठमाडौं बाहिर जलन उपचार सेवाको स्तरोन्नती गर्न सके राम्रो हुन्थ्यो । स्वास्थ्यको व्यवस्था प्रादेशिक अस्पतालहरु बढिरहेका छन् । सबै प्रादेशिक अस्पतालहरुमा जलनको सेवा सुरु गराउन सकियो भने जिल्लास्तरमा पनि जलनको तालिम प्राप्त व्यक्तिहरु सेवा दिनसक्ने भए काठमाडौंसम्म आउनु पर्दैन थियो । सुदुरपश्चिमदेखि पूर्वसम्मका बिरामीहरु सबै काठमाडौंका अस्पताल खोजेर आउने अवस्था छ । त्यसलाई केही मात्रामा कमी ल्याउन सकिन्छ ।
सबैभन्दा पहिला समूदायमा कार्यगत स्वास्थ्यकर्मीलाई रोकथाम तथा प्राथमिक उपचारको तालिम दिनुपर्छ । जसले गर्दा साना खाले बिरामीहरु राम्रो उपचार नपाएर अन्योलमा नपरी स्वास्थ्य सेवा बहन गर्न पाउन् । सानो जलन पनि कहिलेकाहीं समयमा अस्पताल नआउँदा र गलत तरिकाको उपचार पद्धति अपनाउँदा संक्रमण हुने, घाउ ठूलो, गहिरिने समस्याहरु आउन सक्छन् ।
यस्ता समस्या आउन नदिनका लागि समूदायमा कार्यरत स्वास्थ्यकर्मी, त्यसपछि जिल्ला तथा प्रादेशिक स्वास्थ्यकर्मीहरुलाई उचित तालिम र ठूला अस्पतालहरुमा जलन उपचार गर्ने वार्डको मात्र विकास गर्न सके प्रभावकारी हुनसक्छ । साच्चै भन्नुपर्दा नेपालमा जलन क्षेत्रमा केही भएकै छैन भन्दा फरक पर्दैन ।
उदाहरणको लागि नेपालमा एचआइभी एड्स भन्ने बितिकै धेरै डोनेसन्हरु आउने, समुदाय स्तरमा कार्यक्रमहरु हुने गरेका छन् तर जलनमा त्यस्तो महसुस गर्न पाइएको छैन् । यसका लागि नेपालमा सरकारी तवरबाट अलि अगाडि एसिड आक्रमणमा परेकाहरुसँग हामी पनि आवद्ध भएर काम गरेका थियौं । त्यसपछि जलन उपचार सम्बन्धि विधेयक पारित गर्ने विषयमा बृहत छलफल भएको थियो । त्यसमा एसिड पीडितहरुलाई उपचार केही अस्पतालमा निशुल्न गरिन्छ भन्ने वाहेक अरु सरकारी संयन्त्रमा केही काम भएको छैन् ।
उदाहरणको लागि पाल्पाको मिसन अस्पताल, जनकपुरको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल उपचार गर्ने भनिएपनि भौतिक संरचनाको काम भइरहेकाले सेवा खुम्चिएको छ । त्यसैले थोरै अस्पतालहरुमा जलनको उपचार हुने गरेको देखिन्छ ।
हामीले समुदाय लक्षित कार्यक्रमहरु चलाइरहेका छौं । अझैपनि गाउँघरमा आफ्नै प्रकारका उपचारको पद्धति सुनाउनु हुन्छ । अनुसन्धानको क्रममा तराई, पहाड, हिमाल सबै ठाउँमा पुग्यौं । जलन भएको ठाउँमा जे चिसो छ त्यही दल्ने प्रचलन छ । आगोले पोल्ने वित्तिकै गोलभेंडा, आलु, पोखरीको माटो जे चिसो छ त्यो लगाउने चलन छ । जुन पूर्णरुपमा गलत छ । जसले पछि विकराल रुप ल्याउन सक्छ । जलन भएका व्यक्तिलाई भनेर राज्य कोषबाट उपचारको लागि सहयोग गर्ने भन्ने कुरा अहिलेसम्म भएको देखिदैन् ।
हालैको घटनाको कुरा गरौं । अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर ज्यूमा जलनको घटना घट्यो । कहिलेकाही जलनको घटना सानो भएपनि शरीरको कुन अङग प्रभावित भएको छ भन्ने कुराले घट्ना ठूलो भइदिन्छ । उहाँहरुमाथि त्यस्तो घट्ना हुनसाथ सामाजिक सञ्जाल, टोल, चिया पसलभरि चर्चा चल्यो । नेपालमा ठूला मान्छेहरुलाई भयो भने त्यो सम्बन्धित विषयहरु अगाडि बढेको देखिन्छ । नेपालको पहिलो जलन अस्पताल गिरिजा प्रसाद कोइरालाको श्रीमतीको नाममा खोलिएको अस्पताल सुस्मा कोइराला मेमोरियल अस्पताल हो । उहाँलाई जलन भएपछि जलनको उपचार नेपालमा नहुने रहेछ भनेर अस्पतालको परिकल्पना गरियो भनिन्छ ।
जलन कस्ता व्यक्तिलाई हुन्छ भने जो गरिब छ, जसको घरमा राम्रो व्यवस्था छैन्, जसले खाना पकाउने, सुत्ने एकै ठाउँ छ त्यस्ता व्यक्तिहरु धेरै प्रभावित भइरहेका छन् । तल्लो स्तरका व्यक्ति बढि प्रभावित हुने भएर पनि होला माथिल्लो वर्गले अलि महसुस गर्न नसकेको देखिन्छ । संख्यात्मक हिसावले केन्द्रमा पनि बिरामी आइपुगेका छैनन् । काठमाडौमा जलनका अस्पताल बढ्दो छन् । जलनका कुराहरु मिडियामा पनि आउन थालेको छ । बिरामीहरु अस्पताल आइपुगे भने नीतिगत रुपमा पनि काम गर्ने अथवा त्यही क्षेत्रमा काम गर्ने मानिसहरुको ध्यान बल्ल जान थालेको छ । यसलाई सबै स्वास्थ्य संयन्त्रले महसुुस गर्न नसकेको पनि होला । विश्व स्वास्थ्य संगठनले पनि भन्छ नेपालमा मात्र होइन न्यून आय भएका देशहरुको अवस्था नाजूक छ ।
जलन पनि धेरै प्रकारका हुन्छन् । आगोले पोल्ने, पानीले पोल्ने, केमिकलले पोल्ने, तातो भाँडाहरुले पोल्ने आदी हुन् । अस्ति पोखरामा भएको आगोले पोलेको जलन हो । हाइट्रोजन ग्यासमा छर्रावाला मैनबत्तीको फिलिङगोले बेलुन छोयो र बेलुन विस्फोट भयो । त्यसपछि जलन भयो । विरामीहरु अहिले निगरानीमा हुनुहुन्छ । त्यसो गर्नुको कारण भनेको सानो जलनपनि प्राण घातक हुनसक्छ भनेर हो । उहाँहरुलाई ६ प्रतिशत जलन भएको मानिन्छ । उहाँहरुको टाउको र संवेदनशिल अंगमा जलन भएकाले अस्पतालमा राख्नु परेको हो ।
जलनको प्राथमिक उपचारका विषयमा धेरै कुरा थाहा हुनुपर्छ । जलन हुनासाथ एक्लै भए जमिनका लडीबडी गर्नाले आगो निभ्छ । त्यसपछि ३० मिनेटसम्म बगिरहेको पानी हाल्नुपर्छ । पानी धेरै चिसो हुनु हुँदैन् । पानी हाल्दा घाउ गहिरिन पाउँदैन् । त्यसपछि थप उपचारका लागि अस्पताल जानुपर्छ । उपचारको ठाँउ टाढा छ भने प्रर्याप्त मात्रामा झोलिलो खाना खानु राम्रो मानिन्छ । समयमा अस्पताल पुगिएन भने जलन संवेदनशिल अगं जस्तै, जोर्नीहरु, घाँटीको भाग, औंलाको कापहरुमा संकुचन हुने समस्या देखिन्छ । समयमा उपचार गर्न पाइएन भने घरेलु उपचारमा मात्र निर्भर भयो भने र ढिला अस्पताल गइयो अङग नै गुमाउनुपर्ने हुन्छ ।
नेपालमा जलन सम्बन्धि सचेतनाको स्तरको काम नै भएको छैन् । म आफैपनि स्नाकोत्तर गरिसकेको मान्छे हुँ । २०१६ बाट जलन क्षेत्रमा काम सुरु गर्दा यो क्षेत्रमा काम गर्न मिल्छ र जस्तो लाग्थ्यो । तर अहिले सम्झिंदा म सही ठाउँमा आएर काम गर्दैछु जस्तो लाग्छ । किनभने नेपालमा जलनको अवस्था हेर्ने हो भने अगाडि कालो खाल्डो देख्न सकिन्छ । त्यति कामै भएको छैन् । त्यही भएर सचेतनाका कामहरु गर्नु जरुरी छ । पछिल्लो समयमा मिडियाको पहुँचले गर्दा कीर्तिपुर अस्पताल, सुष्मा कोइराला अस्पतालमा जलनको उपचार हुन्छ भनेर सुचना फैलाउन सजिलो भएको छ । तर रोकथामको विषयमा ज्ञानहरु फैलाउने कामहरु गर्नुपर्ने देखिन्छ ।
नेपालका बर्न सेन्टरहरुमा उपकरणहरु चाइने मात्रामा छन् । तर एउटा डेडिकेटेड बर्न अस्पताल बनाएर बर्न आइसीयू, बर्नको मात्रै उपचार गर्ने उपकरणहरु कमी भने पक्कै भएको छ । किनभने बर्न समयअनुसार वा मौसम अनुसार हुन्छ । जाडो महिनामा अलि धेरै हुन्छ । जाडोमा आगो धेरै बाल्छौ अरु बेलामा कम हुन्छ ।
सरकारले तत्कालै गर्नैपर्ने बिषय भनेको समुदाय स्तरमा जनचेतनामा कामहरु हो । स्थानीय स्तरमा जलनको रोकथामका कार्यक्रमहरु अगाडि बढाउने, प्रारम्भिक अवस्थामा नै उपचार गर्ने माहोल बनाउन सक्नुपर्छ । जलन क्षेत्रमा धेरै अस्पताल चाइँदैन । नेपाल देश सानो छ । पाँचवटा जति अस्पताल बनाउन सके सेन्टरले थाम्न सक्छ । तर काठमाडौं बाहिर भौगोलिक विकटताले गर्दा मान्छे आउन नसक्ने अवस्था छ । त्यही भएर स्थानीयस्तरमा पहलकदम गरेर जनचेतना फैलाउने, समुदायमा कार्यगत स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरिनुपर्छ ।
जलन हुँदा हाम्रो शरीरमा पानीको ठूलो भूमिका छ । जलन भएको २४ घण्टामा घाउबाट निरन्तर पानी बग्छ । यस्तो सानो कुराहरु सिकाउनु पर्छ । विश्व स्वास्थ्य संगठनले एउटा भन्छ अरु सस्थाहरुले अरु नै कुरा भन्छन्। त्यो भन्दा पहिला कस्तो अवस्थामा कुन ठाउँमा भएको छ, त्यसलाई हेर्नुपर्छ । जटिल अवस्थामा जस्तै अनुहार, जोर्नीहरु सानो भएपनि अस्पताल जानुपर्छ । यदि जलन बिजुलीले, केमिकलबाट भएको छ भने सानो भएपनि अस्पतालमा नै जानुपर्छ
नेपालमा अहिले ४० प्रतिशत जलनका बिरामीहरु निको भएर घर गएका छन् । तर यसमा पनि जलन कुन भागमा भएको छ भन्ने कुरा हो । समयमा नै उपचार गर्न अस्पताल लगियो भने उपचार खर्चमा कमी गराउन सक्छांै । प्राथमिक उपचार गर्यो भने अस्पतालको बसाइ पनि कमी हुन्छ । नेपालमा ४० प्रतिशत सफल उपचार भएको अवस्था देखिन्छ ।
बच्चाहरु जलन हुँदा बाल बिषेशज्ञहरुलाई सहभागी गराउनुपर्छ । जलन अरु स्वास्थ्य समस्या भन्दा उपचार गर्न अप्ठ्यारो छ । जलन उपचारका लागि सर्जन, नर्स, फिजियोथेरापिस्ट, डाइटिसीएनको उत्तिकै भूमिका रहन्छ । मनोबैज्ञानिक सल्लाहकारको उत्तिकै जरुरी छ । राम्रो टिम बनाएर उपचार गर्ने हो भने जतिपनि जलनको उपचार सम्भव छ ।
यसका लागि समूदायमा जलनको ज्ञान फैलाउन सकिएन भने केन्द्रमा बसेर यो ग¥यौं, त्यो ग¥यौं भनेर मात्र अवस्था सुधार गर्न गार्हो हुन्छ । (एसिया र अफ्रिकामा कार्यरत संस्था इन्टरवर्न नेपालमा पनि सक्रिय छ । जनलसम्बन्धि अनुसन्धान र तालिम प्रदान गर्दै आइरहेका अनिल धितालसँग नेपालमा जलनको उपचारका सम्बन्धमा नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया