ताजा अपडेट »

बुटवलमा ‘हाइमास्ट लाइट’का लागि खनिएका खाल्टो बन्यो पासो

शुक्रबार, ०९ फागुन २०८१, ०९ : १५
492 Shares
शुक्रबार, ०९ फागुन २०८१
492 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाले उज्यालो शहर अभियान अन्तरगत शहरका विभिन्न ठाउँमा हाइमास्ट लाइन जडानलाई तिब्रता दिएको छ । यसैबीच निर्माण कम्पनीलेले आवश्यक संकेत तथा सावधानी नअपनाउँदा लाइट जडानका लागि खनिएका खाल्टो भने पासो सरह बनेको छ । 

बुटवलका मुख्य सडक तथा कालिकापथ अन्तरगत विभिन्न ठाउँमा खाल्टो खनिएको छ भने उक्त स्थानहरुमा स्पष्टसँग देखिने कुनै संकेत तथा चिन्हहरु नहुँदा रातीको समयमा दुर्घटना बढेको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी भएका छन् । यसै बीच विहिबार राती समेत कालिका पथमा खनिएको खाल्टोमा परेर मोटरसाइकल तथा स्कुटरहरु दुर्घटना भएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको छ । 

बुटवलमा करिब साढे चार करोड रुपैयाँ खर्चेर ‘हाइमास्ट लाइट’ जडानको काम जारी रहेको छ । बुटवल उपमहानगरपालिकाको एक करोड ३० लाख र संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त ३ करोड ५१ लाख गरी चार करोड ८१ लाख रुपैयाँको लागतमा हाइमास्ट लाइट जडान गर्न थालिएको हो। 

निर्माण कम्पनीले हाइमास्ट लाइट जडानका लागि ४ करोड ४३ लाखमा ठेक्का सम्झौता गरी जडानको काम अगाडि बढाएको छ। 
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेका अनुसार नगरका विभिन्न स्थानमा १६ मिटर अग्ला र १६ वटा र १० मिटर अग्ला १० वटा लाइट जडान भएका छन् भने भित्री सडकका चोकहरूमा १० मिटर अग्ला हाइमास्ट लाइट जडान गरिएका छन् ।

त्यस्तै, ट्राफिकचोक, अस्पताल लाइन, मैनाबगर चोक, मिलनचोक र बुद्धनगरमा हाल रहेका १० मिटर अग्ला लाइटलाई अन्यत्र स्थानान्तरण गरी ती स्थानमा १६ मिटर अग्ला हाइमास्ट लाइट राखिँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।