ताजा अपडेट »

बुटवलमा जारी खुल्ला लन टेनिसमा प्रदीप र रितिक बीच शुक्रबार उपाधि भिडन्त हुँदै

विहीबार, ०८ फागुन २०८१, २२ : ०१
46 Shares
विहीबार, ०८ फागुन २०८१
46 Shares

बुटवल । रुपन्देहीमा जारी तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ मा मेन्स सिंगलमा नेपालको वरियतामा नम्बर वान रहेका प्रदीप खड्काले बुटवलका रितिक रानासँग शुक्रबार सामना गर्नेछन् । बिहीबार भएको पहिलो सेमिफाइनलमा प्रदीप खड्काले निहाल जेबी थापालाई ६-४, ६-० तथा दोस्रो सेमिफाइनलमा रितिक रानाले निशान्त श्रेष्ठलाई ६-३, ६-४ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।

प्रदीप र रितिकको यो चौथौ फाइनल भिडन्त हो । यसअघि काठमाडौं गणेशमान ओपन टेनिस, सिटिजन ओपन टेनिस र पोखरामा माछापुच्छ्रे तथा बुटवलमा समेत फाइनल खेलेका छन्। अहिलेसम्मको नतिजामा प्रदीप बलिया देखिन्छन् ।

यसैगरि ३५ प्लसमा सिंगलमा जितेन्द्र परियार र सन्तोष खत्री उपाधिको लागि आमनेसामने हुँदैछन् । पहिलो सेमिफाइनलमा जितेन्द्र परियारले दीप जेबी राणालाई ६-०, ६-० को सोझो सेट तथा दोस्रो सेमिफाइनलमा सन्तोष खत्रीले राजन पौडेललाई ६-२, ६-२ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् । यसैगरि ४५ प्लस सिंगलमा भने देव क्षेत्रीले कमल भण्डारीको सामना गर्ने भएका छन् । पहिलो सेमिफाइनलमा कमल भण्डारीले माधव भण्डारीलाई ६-२, ६-१ को सेट, तथा अर्को सेमिफाइनलमा देव क्षेत्रीले राज गुरुङलाई ६-२, ६-१ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन्।

विहीबार भएको खेलमा ५५ प्लस सिंगलमा चन्द्र शाही विजेता बनेका छन् । शाहीले फाइनलमा उत्तम बोगटीलाई ६-०, ६-१ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । यसैगरि ६५ प्लस सिंगलमा भिक्टर राणाले अब्दुल सहमतलाई ६-३, ७-६ को सेटमा पराजित गर्दै उपाधि जितेको टुर्नामेन्ट सुपरभाईजर बिकास खड्काले बताए । यसैगरि खुला डबल्सको उपाधि आयुषमान घले र निशान्त श्रेष्ठको जोडीले जितेका छन् । फाइनलमा निहाल जंग थापा र सक्षमबिक्रम शाहको जोडीलाई ७-६, ७-६ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। यता ३५ प्लस डबल्समा देव क्षेत्री र दीपजेबी राणाको जोडीले जितेन्द्र परियार र समिर शाहको जोडीलाई ६-०, ६-३ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।

४५ प्लस डबल्सको उपाधि भने कमल भण्डारी र सुर्दशन बि को जोडीले चुमेका छन् । फाइनलमा रोहित सुनुवार र हिमाल शाहको जोडीलाई ६-२, २-६, १०-८ को सेटमा पराजित गर्दै कमल र सुर्दशनको जोडीले उपाधि आफनो नाम गरे । ५५ प्लस डबल्समा चन्द्र शाही र उत्तम केएसको जोडीले हिमाल शाह र सुर्दशन बिको जोडीलाई ६-४, ६-२ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगितामा एक सय बढी खेलाडीहरु सहभागी रहेको टुर्नामेन्ट डाईरेक्टर राजन पौडेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।