बुटवल । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणी खनाल बलदेवले अब माओवादीले कसैको बैसाखी टेक्नु नपर्ने बताएका छन् । माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने बताए ।
नेता खनालले २०६४ सालको निर्वाचनमा जनताले देखाए पनि आफ्नो कमजोरीका कारण काँग्रेस एमालेसँग गठवन्धन गर्नु पर्ने अवस्था आएको भन्दै २०८४ को निर्वाचन एक्लै लड्ने उद्घोष गरे । २०८४ को जस्तो अवस्थामा नै फर्कछौँ भन्ने त नहोला तर ठुलो पार्टी बनिन्छ जनतामा जाऔं अहिले माओवादीप्रति जनताको आशा देखिएको छ, उनले भने ।
माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र वेतिथि विरूद्ध अभियान सुरू गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठुलै घराना समेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको बताए ।
नेता खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् । बाबुराम भट्टराई र मोहन वैद्य तत्काल एकतामा आउने सम्भावना छैन विप्लप जी लगायत साथीहरूसंग चाँडै एकता हुँदैछ, उनले भने ।
नेकपा माओवादी स्थायी कमिटी सदस्य हकिकुल्लाहा खानले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे । नेताहरू अब जनताको घरदैलोमा जानू पर्नेमा उनले जोड दिए । सो अवसरमा विभिन्न पार्टी परित्यागगरी एक दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया