बुटवल । दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत तेस्राे दिन बुधबार पाँच खेल सम्पन्न भएका छन् । बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा जारी छात्रहरुको प्रतियोगितामा बुधबार नविन औद्याेगिक कदरबहादुर रिता मावि विजयी भएको छ ।
नविनले नवरत्न माविलाई ४-१ गाेल अन्तरले पराजित गरेको हो । यसैगरी सरस्वती मावि र त्रिभुवन युनाइटेड स्कुल बीचको अर्को खेलमा सरस्वती मावि ३-० ले विजयी भएको नगर खेलकुद विकास समितिका सदस्य शेरजङ गुरूङले जानकारी दिए ।
यसैगरी बुटवलको जवई खेलमैदानमा जारी छात्रहरुको खेलमा नयाँगाउँ मावि विजयी भएको छ । सरस्वती आधारभूत विद्यालयलाई ३-० गोल अन्तरले पराजित गरेको हो । अर्को खेलमा माेतिपुर मावि विजयी भएको छ । उसले ज्ञानाेदय माविलाई ४-० गोल अन्तरले पराजित गरेको हो। त्यस्तै जवई खेलमैदानमै भएको अर्को खेलमा न्यु होराइजन माविले प्रगती माविलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत बिहीबार चारपाला खेल मैदानमा नविन औद्याेगिक मावि र सरस्वती मावि तथा कान्ति मावि र स्कलर्स हाेमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिस्नर हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै जवई खेलमैदानमा छात्र तर्फ नयाँगाउँ मावि र न्यु होराइजन तथा माेतिपुर मावि र अक्सफोर्ड मावि बीच प्रतिस्पर्धा हुने छ । सोही मैदानमा छात्रा तर्फ न्यु होराइजन मावि र अक्सफोर्ड मावि तथा कान्ति मावि र गार्गी माविबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।
प्रतिक्रिया