बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले एकल महिलाहरुलाई सिपसँग जोड्ने बताएका छन् ।
बुधबार मानव अधिकारका लागि महिला, एकल महिला समूह, रुपन्देहीकोे अयोजना तथा जर्मनी परियोजना कुर्वे युस्तोत (kurve wustrow) को आर्थिक सहयोगमा नेपालमा समावेशी समुदायका लागि शान्तिपूर्ण सशक्तिकरण अधियानको परिचयात्मक गोष्ठि कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
बुटवल उपमहानगरपालिकाले एकल महिला लागि धेरै कार्यक्रमहरु संचालन गरिरहेको बताउँदै त्यसबाट सिप सिकेर आत्मनिर्भंर बन्न आग्रह गरे ।
‘एकल महिलाको आत्मनिर्भर बनाउने उद्धेश्यले बुटवल उपमहानगरपालिकाले धेरै कार्यक्रम संचालन गरिरहेको छ । तालिमबाट सिकेको सिपलाई व्यवहारमा कार्यान्वयन गरे आत्मनिर्भर बन्न सकिन्छ। यसका लागि तपाईहरुको प्रयास नै महत्वूर्ण हुन्छ,’–उनले भने ।
साथै प्रमुख पाण्डेले बुटवल उपमहानगरपालिकाले एकल महिलाहरुलाई कुनै पनि विभेद नगरेको बताउँदै भवन निर्माणका लागि जग्गा प्राप्ति भइसकेको र भवन निर्माणको आवश्यक बजेट पनि दिने बताए । यस्तै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रामचन्द्र अर्यालले संविधानले नै समावेशि समाजको सुनिश्च्तिता प्रदान गरेको बताउँदै कार्यक्रमलाई पारदर्शी रुपमा अघि बढाउन आग्रह गरे ।
उपमहानगरपालिका सामाजिक विकास शाखाका उपनिर्देशक दामोदर घिमिरेले आवश्यक सहयोग र समन्वय गर्ने बताए । साथै उनले कार्यक्रमसँग जोएिर त्यसबाट सिकेका कुरालाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न सके आत्मनिर्भर भइने बताए ।
मानव अधिकारका लागि महिला, एकल महिला समूह, रुपन्देही अध्यक्ष रिता सेनले रुपन्देही जिल्लामा १८ हजार एकल महिला रहेको बताउँदै उनीहरुको हितका लागि आफु निरन्तर रुपमा लाग्ने बताइन् । कुर्वे युस्तोत परियोजना नेपालमा सामाजिक सदभावका लागि नागरिकहरुको सहभागितामा संचालन भएको अध्यक्ष सेनले बताइन् ।
परियोजनाले बुटवल उपमहानगरपालिकामा रहेका एकल महिला, द्वन्दपिडित सिमान्तकृत महिला र पिछडिएका महिलाहरुलाई समूह गठन गरि समूहमा एकल महिलाहरुलाई आवद्ध गराउन अभिप्रेरित गर्ने बताइन् । परियोजना सन् २०२७ सम्म संचालन हुने अध्यक्ष सेनले बताइन् । यो परियोजना सन् २०२२ देखि संचालित छ । कार्यक्रमको संचालन मानव अधिकारका लागि महिला, एकल महिला समूह, रुपन्देहीकी सचिव कला केसीले गरेकी थिइन् ।
प्रतिक्रिया