काठमाडौं । सांसद सुर्यबहादुर थापाले अध्यादेश सरोकारवाला र मुलुकको हितमा रहेको बताएका छन् । प्रतिनिधिसभामा आज विशेष समयमा बोल्दै सांसद थापाले सरकारले ६ अध्यादेश सरोकारवालाको हितमा ल्याएको उल्लेख गर्दै अनावश्यक विरोध गर्न आवश्यकसमेत नरहेको जिकिर गरे ।
सांसद थापाले हिउँदे अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन निर्माणसँग सम्बन्धित प्रक्रियामा नै प्रथामिकता दिनुपर्ने भन्दै अनावश्यक मिडियावजाजी गरेर अरोप लगाउने काम बन्द गर्न सुझाव दिए ।
“अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ । अहिले ६ अध्यादेश आएका छन् । शुसासन प्रवर्द्धन, सहकारी बचतकर्ताको बचत रकम फिर्ता, सूचना प्रविधि प्रवर्द्धन, औद्योगिक वातावरण, वित्तिय उत्तरदायित्व र भूमिसम्बन्धि अध्यादेश आएको छ,” उनले भने, “सरोकारवाला खुसी भएका छन् । तर हाम्रा केही सांसदमा खुसी देखिएन । सरोकारवाला र मुलुकको हितमा अध्यादेश आएको हो । विरोध गर्नु बेकार छ ।”
सांसद थापाले सरकार निर्माण भएपछि अघिल्लो सरकारको कार्यकालमा बाँकी रहेको निर्माण व्यवसायीका रु ३० अर्बभन्दा बढी भुक्तानी अहिलेको सरकारले दिएको बताए ।
“वर्तमान सरकारको कार्यकालमा राजश्व वृद्धि भएको छ । पूँजीगत खर्चमा वृद्धि भएको छ । पर्यटन आगमनमा पनि सुधार आएको छ । अर्थतन्त्र लयमा फर्कने क्रममा रहेको छ,” सांसद थापाले भने, “अहिले अनावश्यक अध्यादेशको विरोध गरेर सरकारको आलोचना भइरहेको छ । यो संविधान विपरितको काम होइन् । संसद् नलचेको बेलामा छोटो समयमा अध्यादेश ल्याउन सरकारलाई दिइएको सुविधा हो ।”
मुलुकका दुई ठूला पार्टीको सहकार्य हुँदा ठूलो उपलब्धि हुने सांसद थापाले बताए । “यसपालि पनि ठूला उपलब्धि गराउनुपर्ने छ । समाजमा निरासा हटाएर आशा जगाउने उद्देश्यअनुसार नै सरकार अगाडि बढिरहेको छ,” उनले भने, “देशमा भ्रष्टाचार बढेको छ । सुशासन कायम राख्न अध्यादेश ल्याउन लागिएको हो ।”
सहकारी ठकी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाइरहेको उल्लेख गर्दै सांसद थापाले आपत्ति जनाए । उनले सामाजिक सञ्चाल नियमन सम्बन्धि विधेयकले विद्युतीय अपराध रोकिने बताए ।
सांसद थापाले भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत भैरहवाकी छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको घटनाको छानबिन हुनुपर्ने माग गरे ।
प्रतिक्रिया