ताजा अपडेट »

काल भैरवकामना मन्दिर व्यवस्थापन समिति एवम् भैरव कामना धार्मिक वनको अध्यक्षमा कसजू

सोमबार, ०५ फागुन २०८१, २० : १५
122 Shares
सोमबार, ०५ फागुन २०८१
122 Shares

 

बुटवल । पाल्पा, तिनाउको नुवाकोटमा रहेको ऐतिहासिक तथा धार्मिक काल भैरवकामना मन्दिर व्यवस्थापन समिति एवम् भैरव  कामना धार्मिक वनको ११ ओैं वार्षिक साधारणसभा र तेस्रो अधिवेशन  सोमवार नुवाकोटमा सम्पन्न भएको छ ।  अघिवेशनले रामेश्वरप्रसाद कसजूको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हुमराज बस्याल,सचिवमा अणप्रसाद बस्याल, सहसचिवमा गोविन्द न्यौपाने, कोषाध्यक्षमा कर्णकुमार हैंजू र सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । सदस्यहरुमा तारा बस्याल,हरिकला कुमाल र विजय भट्टराई छनौट भएका छन् । साथै नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउको धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको भैरवकामना मन्दिर,प्रदेश सरकारले निर्माण गरेको सांस्कृतिक डबली,केवलकारले तिनाउको गौरव बढाएको बताउँदै तिनाउ सरकारले पर्यटनको विकासका लागि सक्दो सहयोग गर्ने बताए ।
 विशिष्ट अतिथिका रुपमा रहेका लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङले नुवाकोट  काल भैरवकामना मन्दिरलाई आवश्यक प्रचारप्रसार गर्दै आएको भेटीलाई पारदर्शी रुपमा कार्यविधि बनाई यसै क्षेत्रको शिक्षा,पर्यटन र सामाजिक क्षेत्रमा खर्चिनु पर्नेमा जोड दिए । उनले नुवाकोटलाई धार्मिक, ऐतिहासिक,साहसिक एवम् पुरातात्त्विक पर्यटनका रुपमा विकास गर्न सम्भव रहेको बताउँदै तीनै तहको सरकारले यस क्षेत्रलाई महत्वका साथ हेरेको बताए ।
अर्का विशिष्ट अतिथि तिनाउ गाउँपालिका प्रवक्ता यादवप्रसाद अर्यालले आफ्नो पालिका र वडाभित्र रहेको नुवाकोट भैरव मन्दिरलाई  विकास गर्न जरुरी रहेको ओैंल्याउँदै सबैसँग सहयोगको अपेक्षा प्रकट गरे । यस क्षेत्रको सुरक्षा,विकास र हातेमालो गर्न आफू प्रतिवद्व रहेको अर्यालले बताए ।
सामाजिक अभियन्ता राजेश श्रेष्ठले नुवाकोटलाई सबैतिरबाट विकासका लागि सहयोग पुराउनु पर्नेमा जोड दिए । कार्यक्रममा नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोट क्षेत्रको विकासका लागि आफूहरु निरन्तर गतिशील रहेको बताउँदै केवलकार सञ्चालनमा धेरै मिहिनेत रहेको उल्लेख गरे । नुवाकोटलाई विकास गर्न सबैसँग हातेमालो गर्न कहिंकतै आफू नचुकेको सुनाए । व्यवसायी उज्ज्वल कसजू, तारा बस्याललगायतले कार्यक्रम सफलताको शुभकामना प्रकट गरेका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामेश्वरप्रसाद कसजूको अध्यक्षता र सदस्य हरिकला कुमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।