बुटवल । बुटवल-८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा मंगलबार सम्पन्न बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेलले उपाधि चुम्न सफल भएका छन् । उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरुलाई पछि पार्दै दीप गायन तारा बन्न सफल भएका हुन् ।
प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रुपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरुले गीत प्रस्तुत गरेका थिए । अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा.वि.की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरी बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थीले दीप बोर्डिङले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको गायन प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
त्यसैगरी बुटवल नगर शिक्षा समिति सदस्य तथा तिनाउ अंग्रेजी बोर्डिङ स्कुलका प्राचार्य यज्ञमूर्ति पाण्डेले आफूले दीप बोर्डिङ स्थापनाको सुरुवाती अवस्थामा अध्यापन गरेको बताउँदै दीपले शैक्षिक क्षेत्रमा फड्को मारेको बताए । दीप बोर्डिङ प्रविधिमैत्री शिक्षामा अगाडि बढ्दै संस्थागत विद्यालयको पक्तिमा राम्रो नमूना बनिरहेको बताए ।
कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा महत्वपूर्ण कार्य गर्दै आइरहको र यसले आगामी दिनमा अझै उन्नति गर्दै जाओस् भन्ने शुभकामना दिए । दीप सांस्कृतिक परिवारका विद्यार्थीहरुले गुरु वन्दना, गणेश वन्दना, स्वागत गीत, नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्य, बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थी, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, वि.व्य.स. सदस्य तथा लेखाप्रमुख रेखा श्रेष्ठ, कार्यक्रम संयोजक श्याम बस्याल लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र विपिन ढकालले संयुक्त रूपमा गरेका थिए ।
प्रतिक्रिया