ताजा अपडेट »

राष्ट्र निर्माणमा सबैको सहभागिता जरुरी छ : उपप्रधानमन्त्री सिंह

सोमबार, ०५ फागुन २०८१, १६ : ५७
20 Shares
सोमबार, ०५ फागुन २०८१
20 Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्र निर्माणको प्रक्रियामा सबैको सहभागिता जरुरी भएको बताएका छन् । ‘मनास्लु वल्र्ड स्कुल’ले आज आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि विकसित देश एकै दिनमा नबनेको बताए ।

अहिलेका विकसित देशहरु बन्न पनि वर्षौं लागेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले समृद्ध नेपाल बनाउने अभियान अघि बढिरहेकाले चाहेजस्तो देश बनाउन केही समय लाग्ने र त्यसमा सबै नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राखे । अहिले व्यवस्था परिवर्तन भयो तर अवस्था फेरिएन भनेर गलत भाष्य बनाइएको उल्लेख गर्दै प्रजातन्त्र प्राप्तिपछि सबै क्षेत्रमा ठूलो परिवर्तन भएको उनको भनाइ थियो । 

उपप्रधानमन्त्री सिंहले देशमै गुणस्तरीय शिक्षा पाउने अवस्था बनेकाले देशभित्रै अवसर खोज्न युवाहरुलाई आग्रह गरे । कडा मेहनत र परिश्रमविना लक्ष्य प्राप्ति गर्न असम्भव रहेकाले  विद्यार्थीहरुले अध्ययनमा लगनशील हुनुपर्ने सुझाव दिए । देशमै अवसर भएकाले त्यसको सदुपयोग गर्ने सोच विकास गर्न आवश्यक रहेको उनले बताए । 

“गुणस्तरीय शिक्षा मात्र सबैथोक होइन । सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिनुस् । क्षमता भएर मात्रै हुँदैन । कडा मेहनत र अनुशासनन चाहिन्छ,” उपप्रधानमन्त्री सिंहले भने । 

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले समाजसेवी अनुराधा कोइराला, नायक राजेश हमाल, राष्ट्रिय फुटबल खेलाडी किरण चेम्जोङ, शिक्षाविद् बालचन्द्र देवकोटा र पत्रकार राजेन्द्र बानियाँलाई सम्मानपत्र प्रदान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।