ताजा अपडेट »

खल्ती र आईएमई पे मर्जरमा जाने, नयाँ नाम ‘आईएमई खल्ती’

सोमबार, ०५ फागुन २०८१, ०६ : ४५
28 Shares
सोमबार, ०५ फागुन २०८१
28 Shares

काठमाडौं । नेपालका दुई प्रमुख डिजिटल वालेट खल्ती र आईएमई पे एक-आपसमा गाभिने भएका छन् । आइतबार दुवै कम्पनीबीच यस विषयमा लिखित सम्झौता भएको हो । नेपालमै पहिलो पटक भएको वालेट मर्जरपश्चात ग्राहकले एउटै एपमा खल्ती र आईएमई पेका सबै सुविधा पाउनेछन् ।

मर्जरपछि वालेटको नाम ‘आईएमई खल्ती’ राख्ने निर्णय भएको आईएमई पेका एक अधिकारीले जानकारी दिए । उनका अनुसार यस विषयमा विस्तृत जानकारी चाँडै दिइने छ । नियामक नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्योट विनियमावली, २०७७ मा संशोधन गर्दै वालेट मर्ज हुनसक्ने व्यवस्था गरेको थियो । संशोधित विनियमावलीमा भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरू एक-आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्नसक्ने व्यवस्था उल्लेख छ ।

खल्ती र आईएमई पेबीच एकीकृत कारोबार सुरु भएपछि ग्राहक संख्याका आधारमा देशकै ठूलो वालेट बन्ने बताइएको छ । नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै सेयर हिस्सा धेरै रहने बताइएको छ। हाल आइएमई पेमा र खल्तीमा तीन सयको दरमा कर्मचारी रहेका छन्। 

आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ। आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ।  

खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।