ताजा अपडेट »

युग सुहाउँदो डिजिटल शिक्षामा अघि बढ्न उपसभामुख रानाको जोड

शुक्रबार, ०२ फागुन २०८१, २० : ४२
46 Shares
शुक्रबार, ०२ फागुन २०८१
46 Shares

बुटवल । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले युग सुहाउँदो डिजिटल शिक्षामा जोड दिएकी छन् । शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तो हुने टीप्पणी गर्दै उपसभामुख रानले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढ्न आग्रह गरिन् ।

रुपन्देहीको बुटवल स्थित क्यानन माध्यमिक विद्यालयको २८ औँ वार्षिकोत्सव तथा रजत जयन्ती २०८१ को उद्घाटन गर्दै रानाले बालबालिकाको पहिलो टिचर अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गरिन् । उपसभामुख रानाले विद्यार्थीलाई इमानदार, सादगी र सदाचारी बन्न समेत आग्रह गरिन । ‘अहिलेको शिक्षालाई संसारभर प्रतिस्पर्धा गर्न सक्ने खालको बनाउनुपर्छ, यसमा बुटवलको क्याननले गरेको अभ्यास अनुकरणीय छ ।’-उनले भनिन्, ‘अहिले टेक्नोलोजीले संसार सानो बनाएको छ, संसारका सबै गतिविधि एकै छिनमा सबैले जान्न र हेर्न सक्छन् , त्यसैले आँट र शाहस गरेर अघि बढ्नुपर्छ ।’

उनले शिक्षाले तोपले जस्तै परिवर्तन ल्याउने उल्लेख गरिन । उनले भनिन् ‘जहा शोषण हुन्छ त्यहाँ क्रान्ति हुन्छ, शिक्षाले परिवर्तन आउछ, शिक्षा पनि तोप जस्तै हो ।’ रानाले नेपाल सुन्दर रहेको उल्लेख गर्दै भनिन्, ‘हामी माटोबाट आएको माटो मै जाने हो, प्रकृति संरक्षणमा जुट्नुस्, नेपाल देश सुन्दर छ, देश भित्र घुम्नुस्, देश बाहिर भन्दा देश नै सुन्दर छ, मैले संसारका धेरै देश घुमेर हेरेको छु ।’

सो अवसरमा  क्याननले नगद ५१ हजासहित उपसभामुख राना मगरलाई अभिनन्दन गरेको थियो । त्यस्तैराष्ट्रिय क्रिकेट खेलाडी देव खनाललाई अनुबन्धन समेत गरेको छ । सो अवसरमा पत्रकारिताक्षेत्रबाट शिक्षा र समाजलाइ जोड्न उल्लेखनीय भूमिका निर्बाह गरेको भन्दै गोरखापत्रकर्मी कपिल ज्ञवालीलाई नगद १० हजार, दोसल्ला तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । त्यस्तैगरी क्यानन माविका संस्थापकहरु, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी सबैलाई प्रशंसापत्र, करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्राचार्य शंकर भण्डारीले विद्यालयलाई समय सापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गरे । उनले अबको ५ वर्षमा रुपन्देहीको नम्बर वान स्कुलका रुपमा परिवर्तन गरेर देखाउने दाबी गरे । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका प्रमुख रोमाकान्त तिवारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, अभिभावक संघ लुम्बिनीका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, प्रबन्ध निर्देशक दिपक पौडेल, प्राचार्य शंकर भण्डारी, सञ्चारकर्मी सुमन श्रेष्ठ लगायतले बोल्दै विद्यालयलाई पठन-पाठन मात्रै होइन संस्कार र ब्यवहार सिकाउने थलोको रुपमा समेत बिकास गर्नुपर्ने धारणा राखे ।

रजत जयन्तीको अवसरमा रक्तदान, माघ २२ देखि २५ गतेसम्म खेलकुद सप्ताह, जिल्ला स्तरीय बादबिवाद प्रतियोगिता लगायत कार्यक्रम संचालन गरिएको इसिए इन्चार्ज मिनराज गिरीले जानकारी दिए । बुटवल-८ मा रहेको विद्यालयमा प्ले ग्रुप देखि १० सम्म ७ सय जना र  यसैगरी विज्ञान र ब्यवस्थापन विषयमा गरि ११ र १२ मा ३२२ विद्यार्थीहरु अध्ययरत रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।