ताजा अपडेट »

लुम्बिनीमा ५ सय जनाको प्रवज्या र चौथो त्रिपिटक पाठ समारोहको तयारी

शुक्रबार, ०२ फागुन २०८१, १७ : ३४
116 Shares
शुक्रबार, ०२ फागुन २०८१
116 Shares

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा फागनु दोस्रो हप्तादेखि दुई ठूला कार्यक्रम हुने भएको छ । प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने भएको हो ।

अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालिन भिक्षु) हुनेछ । यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ ।

त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक-उपासिका सहित अल्पकालिन श्रामणेरहरुको सहभागीता रहनेछ । फागनु २१ गते औपचारीक उद्घाटन गरी शुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकले जनाएका छन ।

गत वर्षमा जस्तै फागुन महिनामा हुने ठूला दुई कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यवहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गरे ।

यसैगरी फागुन १४ गतेसम्म अल्पकालिन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ । भिक्षु तेछावरले ५ सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । भगवान बुद्धको शिक्षा अनुशरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन समेत बिशेष गरी स्थानीयहरुलाई भिक्षु तेछावरको आग्रह छ । 

विशेष गरी बुद्धका उपदेशलाई व्यवहारमा पालना गर्नका लागि प्रवज्या कुलपुत्र कार्यक्रम राख्ने गरिएको हो । फागनु २० गते मंगलबार लुम्बिनीमा प्रवज्या गराइनेछ । त्यसपछि फागनु २२ गते लुम्बिनी हलमा भिक्षटन, फागुन २४ गते दीप प्रज्जवलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराई चैत ३ गते प्रमाणपत्र वितरण गरी समापन गर्ने गरी कार्यतालिका बनाईएको छ । प्रमाणपत्र वितरणपछि चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।