ताजा अपडेट »

जनयुद्ध बारेको बहस !

शुक्रबार, ०२ फागुन २०८१, ११ : ३२
206 Shares
शुक्रबार, ०२ फागुन २०८१
206 Shares

केहि हप्ता अगाडि रघु पन्तजी रे सदनमा योगेश भट्टराईजीको प्रस्तुती सुन्दा उहाँहरु दुवैले जनयुद्धलाई राक्षसीकरण गरेको पाइयो । उहाँहरुका जस्तै मिल्दाजुल्दा विचारहरू अरूहरूले पनि प्रस्तुत गरेको पाइन्छ । यी विचारहरू सुन्दा उहाँहरूमा बुझाइको अभाव छ वा उहाँहरूको नियतमा नै खराबी छ भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो।

किनकी हामी सबैलाई जानकारी नै छ कि २०५२ सालमा संविधान नेपाली जनताका छोराछोरीले लेख्न पाउनु पर्दछ भन्ने मुख्य मा सहित जनयुद्धको थालनी भएको थियो । समय मै संविधानसभाको नारालाई स्वीकार गरिएको भए, विद्रोह नै हुने थिएन, होइन र ? 
यो नारा अस्वीकार गरिएन मात्र होइन कि यो नाराको उठान गर्ने शक्तिमाथि नै दमनको प्रक्रिया अगाडि बढाइयो। यो नाराको विरुद्धमा कांग्रेस, एमाले र राजतन्त्र एकै साथ अगाडि बढेको इतिहास पुरानो भइसकेको छैन।

यो नाराको विरुद्ध कहिले शेरबहादुरको नेतृत्वमा, कहिले गिरिजाको नेतृत्वमा, कहिले सूर्यबहादुरको नेतृत्वमा, कहिले लोकेन्द्रबहादुरको नेतृत्वमा, कहिले ज्ञानेन्द्र शाहको नेतृत्वमा दमनका शृंखलाहरू अगाडि बढाउने काम भयो। जुनसुकै विधि र प्रक्रिया अपनाउँदा पनि विद्रोह अगाडि बढ्दै गयो। युद्धको माध्यमबाट विद्रोह समाप्त गर्न असम्भव भयो । 

त्यसपछि कांग्रेस, एमालेले राजतन्त्रसँगको सहकार्य छाडी, माओवादी, जसले जनयुद्धको नेतृत्व गरिरहेको थियो । १२ बुँदे सहमति सहित संयुक्त मोर्चाको निर्माण गरी अगाडि बढेको इतिहास पुरानो भइसकेको छैन। प्रारम्भमा संविधानसभाको नारा उठाउनेहरूलाई आतंककारी भनिएकोमा पछि सोही नारा आफूहरूले पनि स्वीकार गरेको हो कि होइन । पछिल्लो चरणमा त्यो नारा सबैको साझा नारा बनेको थियो हैन र ? 

गणतन्त्र प्राप्ति पछि जनयुद्ध लडेका लडाकुहरूलाई आतंककारी भनेर जेल चलान गरिएको हो कि उनीहरूलाई नेपाली सेनासरह मान्यता गरी सेना समायोजन गरिएको होइन र? आज जनयुद्धका कमाण्डर नेपाली सेनाको प्रमुख बन्न सक्ने दोस्रो तहमा पुगिसक्नु भएको छ। यसरी संश्लेषण भइसकेको विषय, इतिहासमा सकारात्मक मुल्याकंन भइसकेको विषयप्रति यी साथीहरूलाई आज आएर किन एलर्जी भएको ? शब्द प्रति किन आतंकित हुनु भएको छ ।

जहाँसम्म हिंसा हो कि होइन भन्ने बहस छ,  हरेक सिक्काका दुई पाटा हुने गर्दछन्। हरेक घटनालाई जड चेतनाबाट होइन कि द्वन्द्ववादी चेतनाले हेर्नु पर्दछ। हिंसा दुई प्रकारका हुने गर्दछन् – क्रान्तिकारी हिंसा र प्रतिकान्तिकारी हिंसा। हिंसा केको निम्ति । त्यसको लक्ष्य के हो! उद्देश्य के हो! कुनै पनि घटनालाई निरपेक्ष रूपमा राम्रो वा नराम्रो, सही वा गलत भन्न सकिदैन। त्यसको अन्तर्यमा  पुगेर मात्रै भन्न सकिन्छ कि त्यो सही हो वा गलत ।

भारतका भगतसिंहले संसद भवन नै उडाउने उद्देश्यले बम राखे वापत उनलाई तत्कालीन सरकारले फाँसीमा झुण्डाएको थियो। तर आज उनलाई महान् शहीदको रूपमा भारतमा मानिएको छ। नेपाली कांग्रेसले मुक्ति सेना गठन गरेर राजतन्त्रको विरुद्ध विद्रोह थालिएको घटनालाई पनि हामी अग्रगामी कदम मान्दछौं।

झापा विद्रोह जो सामन्तवादका विरुद्धमा उठेको विद्रोह थियो, त्यो विद्रोहले जनतामा यति धेरै छाप छोडेको थियो कि २०३२ साल हुँदै २०३५ सालमा एकता भएर नेकपा (माले) नामाकरण भइसक्दा पनि त्यो पार्टीलाई झापाली समूहका रुपमा  चिनिन्थ्यो। त्यसलाई हामीले कतिपय उग्रवामपन्थी कमजोरीका बाबजुद त्यो जनविद्रोह नै थियो भनेर मानेका छौं।

सोभियत रुसको विद्रोह होस् वा चिनको विद्रोह, यी सबै क्रान्तिकारी, युगान्तकारी हिंसा थिए भनेर इतिहासले विश्लेषण गरेको छ। हरेक वस्तु र घटनालाई समय सन्दर्भसँग जोडेर मात्र सही र गलतको निरूपण हुने गर्दछ।

अतः सारमा भन्नुपर्दा, २०५२ सालमा उठेको सशस्त्र विद्रोह कतिपय कमी कमजोरीका बाबजुद राजतन्त्रात्मक संवैधानिक व्यवस्थाका विरुद्धमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि परिलक्षित  थियो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ। त्यसैले यो ऐतिहासिक छ र महान् छ।

जहानियाँ राणा शासनका विरुद्ध उठेका विद्रोहहरू, विभिन्न कालखण्डमा उठेका विद्रोहहरूमा सहादत प्राप्त गर्ने महान् शहीदहरू प्रती उच्च सम्मान प्रकट गरौं। सकारात्मक इतिहासप्रति नकारात्मक धारणा नराखौं। आजको नेतृत्वलाई हेरेर हिजोको इतिहासको राक्षसीकरण नगरौं। अहिले तपाईंहरू जहाँ उभिएर चर्को चर्को स्वरमा बोलिरहनु भएको छ, त्यो विविध कालखण्डका शहीदहरूको रगतले लेखिएको इतिहास हो भन्ने कुरा नबिर्सौं।
 

विष्णुहरि शर्मा
लेखकको बारेमा
विष्णुहरि शर्मा
रतम्भकार