ताजा अपडेट »

एनसेलले ल्यायो ‘भोवाईफाई’ सेवा,  वाईफाईबाटै एचडी क्वालिटीको फोन तथा एसएमएस गर्न सकिने

शुक्रबार, ०२ फागुन २०८१, ०७ : ३०
8 Shares
शुक्रबार, ०२ फागुन २०८१
8 Shares

काठमाडौँ । मोबाइल सेवा प्रदायक एनसेलले वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल तथा एसएमएस सेवा दिन भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवा ल्याएको छ । नयाँ प्रविधिमा आम उपभोक्ताको पहुँच सुनिश्चित गर्ने आफ्नो निरन्तर प्रयासका रूपमा यो सेवा सञ्चालनमा आएको जनसेलले जनाएको छ ।

कम्पनीका अनुसार, यो सेवाले ग्राहकलाई कुनै पनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरेर स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, इनकमिङ कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउँछ । वाईफाई कलिङका नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै; घर, ठूला भवनका बेसमेन्टहरू र दुर्गम स्थानमा समेत प्रयोग गर्न सकिन्छ ।

पहिलो चरणमा एनसेलको यो सेवा आईफोन ८ र त्यसपछि आएका आईफोन मोडेलहरूमा उपलब्ध छ ।  यो सेवा लिनका अतिरिक्त शुल्क लाग्दैन । ग्राहकले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा विस्तारित नेटवर्क कभरेजको फाइदा लिएर सम्पर्कमा रहिरहन सक्ने कम्पनीको भनाइ छ ।

भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवाका लागि फोरजी आवश्यक भएजस्तै भोवाईफाईका लागि भरपर्दो वाईफाई कनेक्सन चाहिन्छ ।

कमजोर मोबाइल नेटवर्क भएका ठाउँहरूबाट कुराकानी गर्दै मोबाइल नेटवर्क भएको स्थानमा पुगेमा बिना कुनै बाधा भोवाईफाईबाट मोबाइल नेटवर्कमा स्वचालित रूपमा स्विच हुने यो प्रविधिको एक मुख्य विशेषता हो । यसले अस्थिर र कमजोर मोबाइल नेटवर्क भएका स्थानका ग्राहकका लागि धेरै फाइदा पुर्‍याउने बताइएको छ ।

फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई सञ्चालनमा ल्याएको जनसेलले जनाएको छ । चाँडै नै यो सेवा सामसङ, साओमी, ओपो, भिभो लगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने कम्पनीको योजना छ । जनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसङ्ख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ, जसले भोल्टे र भोवाईफाई दुवै सेवा उपयोग गर्न सहज बनाउँछ ।

भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकले एनसेल एप डाउनलोड गरेर एपमार्फत यो सेवा एक्टिभेट गर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकले कुनै पनि भरपर्दो वाईफाई मार्फत भोवाईफाई सेवाको फाइदा लिन सक्छन् ।

सेवा एक्टिभेट गर्नुअघि ग्राहकले भोल्टे र भोवाईफाई वा वाईफाई कलिङ दुवै आफ्नो मोबाइलमा सक्रिय अर्थात् स्विच अन गरेको हुनुपर्छ । त्यसका लागि सेटिङमा गएर मोबाइल नेटवर्कभित्र गई सिमकार्ड छान्नु पर्दछ र भोवाईफाई, वाईफाई कलिङ वा सोही अनुसार छानेर एक्टिभेट गर्नुपर्छ ।

यसरी ग्राहकले आफ्नो मोबाइलमा भोवाईफाई वा वाईफाई कलिङ देखेमा सो मोबाइलमा भोवाईफाई सेवा चल्ने बुझिन्छ । सेटिङमा भोवाईफाई, वाईफाई कलिङ सक्रिय गर्ने प्रक्रिया एन्ड्रोइड र आईओएस दुवैका लागि समान रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।