काठमाडौँ । ठमेलमा ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका स्थायी समिति सदस्य कमल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । जोशीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।
माघ २४ मा ठमेलको ज्याठास्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीका जवान र हवल्दारमाथि जोशी समेतले निर्घात कुटपिट गरेका थिए । मध्यराति ‘राउण्ड अप ड्युटी’मा खटिएका प्रहरी जवान नगेन्द्रराज विष्ट र हवल्दार जुगलाल घर्ती कुटिएका हुन् ।
आक्रमणमा संलग्न डडेल्धुराको गन्यापधुरा–५ घर भएका २२ वर्षीय रमेश फुलारा र ताप्लेजुङ घर भएका २५ वर्षीय दिनेश सिग्देल यसअघि नै पक्राउ परेका थिए । प्रहरीले जोशीलाई उन्मुक्ति दिन खोजेको आरोप लागेको थियो । आरोपी फुलारा ठमेलस्थित अस्कल क्याम्पसको स्ववियु सह–सचिव हुन् । घटनामा संलग्न अनेरास्ववियुको अस्कल क्याम्पस कमिटी सचिव गोपाल बहादुर शाही, क्याम्पस कमिटी सदस्य नविन ऐर र शौजन्य शाही फरार छन् ।
प्रतिक्रिया