ताजा अपडेट »

गगनले उद्घाटन गरेको मुस्लिम संघको लुम्बिनी अधिवेशनमा लफडा, मध्यरातमा भागाभाग

अनिश्चितकालका लागि स्थगित

विहीबार, ०१ फागुन २०८१, १५ : ३१
488 Shares
विहीबार, ०१ फागुन २०८१
488 Shares

बुटवल । नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन विवादका कारण स्थगित गरिएको छ। ११ जिल्लाका प्रतिनिधिहरूले चुनावको माग गर्दा पनि निर्वाचन प्रकृया अघि नबढाइएपछि केन्द्रीय नेताहरू बैठकबाट जबरजस्ती हिँडेको आरोप लागेको छ।

प्रदेश अधिवेशनमा आफ्ना मनोनित नेतृत्व नहुने भएपछि केन्द्रीय नेताहरूले अधिवेशनलाई अवरुद्ध गरेको आरोप प्रतिनिधिहरूले लगाएका छन्। उनीहरूले निष्पक्ष निर्वाचनको माग गर्दै चुनाव गराउन दबाब दिएका थिए। नेपाल मुस्लिम संघको केन्द्रिय समिति र निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्। अधिवेशनको नयाँ मिति कहिले निर्धारण गरिन्छ भन्नेबारे कुनै स्पष्ट जानकारी दिइएको छैन। 

प्रतिनिधिहरूले यस निर्णयको विरोध गर्दै संघमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाइएको बताएका छन्। साथै, निर्वाचन नगरी जबरजस्ती अधिवेशन स्थगित गर्नु अलोकतान्त्रिक भएको उनीहरूको भनाइ छ। उक्त प्रथम अधिवेशनको उद्घाटन शत्र भने भब्यताका साथ सम्पन्न भएको छ र अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले गरेका थिए।

अधिवेशनका लागि ११ जिल्लाका १२८ प्रतिनिधि छनौट भएर बुटवलमा आएका थिए । बुधबार साँझ सदस्यहरु निर्विरोध भएपनि अध्यक्षमा तीन जनाको उम्मेदारी, तथा अन्य पदमा पनि उम्मेदारी परेपछि निर्वाचनको सबै प्रकृया शुरु भएको थियो । अध्यक्षमा बुटवलका सबर मिया र जाकिर हुसेनको उम्मेदारी परेको थियो भने नवलपरासीका कमिदिन मियाले सोही पदमा उम्मेदारी दिए पनि उनी सहमतिमा जान तयार भएका थिए । 

यसअघि सचिवमा रहेका सबर मियाको पक्षमा रहेका प्रतिनिधिहरु धेरै भएकाले उनले चुनाव जित्ने निश्चित भएपनि अर्को पक्षले अनावश्यक विवाद निकालेर अधिवेशन रोकेको आरोप उनका पक्षले लगाएक छन् भने जाकिर पक्षले प्रतिनिधि छनौटमै समस्या भएकाले केन्द्रले नै रोकेको तर्क गरेका छन् । 

कांग्रेस केन्द्रीय सदस्य तथा मुस्लिम संघका संस्थापक केन्द्रीय अधयक्ष अब्दुल सत्तरले अधिवेशनबाट जाकिर हुसेनलाई अध्यक्ष बनाउन खोजेको तर निर्वाचनबाट त्यो नहुने भएपछि अनेक बहानामा बल प्रयोग गरेर स्थगित गराएको अध्यक्षका उम्मेदार सबर मियाले बताए । ‘अधिकांश प्रतिनिधि मेरो पक्षमा थिए, तर अब्बुल सत्तर मलाई चाहनुभएको थिएन, निर्वाचनको सबै प्रकृया पूरा भएर मतपत्र छापिएको थियो तर आफूले भनेको नहुने भएपछि अन्तिम समयमा बल प्रयोग गरेर रोकाउनुभयो’ उनले भने,–‘११ जिल्लाका प्रतिनिधिले हिजै नेतृत्व टुंगाउन माग गरेर नारावाजी पनि गरेका हुन्, तर उहाँहरु डराएर भाग्नुभएको हो, यसरी पनि संस्था चल्न सक्छ ?’ 

सबरको दावीअनुसार अब्दुलको दवावमा संघका केन्द्रीय अध्यक्ष अताउल मन्सुरीले निर्वाचन समितिलाई पत्र लेखेर सदस्यहरु निर्विरोध निर्वाचित भएपछि निर्वाचन प्रकृया रोकिएको हो जबकी पहिले निर्वाचन समितिका प्रमुख लोकप्रसाद खरेलले चुनावको सबै तयारी गरेका थिए । 

अध्यक्षका अर्को दावेदार जाकिर हुसेनले भने सबर पक्षले फर्जी मतदाता बनाएको सूचना बाहिर आएपछि केन्द्रीय समितिले अन्तिम समयमा पत्र लेखेर रोकेको बताउँछन् । ‘एउटा जिल्लामा बसेर सबै जिल्लाका प्रतिनिधि बनाइएको थियो, यसको सूचना केन्द्रले पाएपछि रोकिएको हो, रमजान चलेको छ, अब एक महिनापछि मात्रै हुनेभयो, बुटवलमा बसेर अनावश्यक राजनीति गर्दा समस्या भएको हो’ उनले भने –‘केन्द्रीय अध्यक्ष, अन्य नेताहरुलाई नै होहल्ला गरेर कार्यक्रमस्थलबाट लखेटिएको थियो, यसरी पनि संगठन चलाउन सकिन्छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।