म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडाखेतमा विद्युत सवस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना मार्फत सवस्टेशनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो । म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय ग्रिडमा जोड्ने उद्देश्यले डाडाखेतमा सवस्टेशन निर्माण गरिएको हो ।
आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाडाखेत सवस्टेशनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए । ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रबिधिको उपकरण जडान गर्न थालिएको छ ।
डाडाखेत देखि रघुगङ्ग गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन र दुवै ठाँउमा सवस्टेशन निर्माणका लागि सन २०२१ को डिसेम्वर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ ।
“समग्रमा ६० प्रतिशत भौतिक प्रगति भएको छ,” आयोजना प्रमुख अग्रवालले भने “राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाई र केही टावर निर्माण स्थलमा समुदायको बिवादका कारणले आयोजना निर्माण अवधी लम्बीएकाे हो ।” एशियाली विकास बैंकको ऋणमा सवस्टेशन र प्रशारण लाइन निर्माण आयोजना सञ्चालन भएको हो ।
राहुघाटको सवस्टेशन निर्माणले गति लियो
भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सवस्टेशनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो ।
२२०-१३२-३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेशन सकेर संरचना बनाउन थालिएको एनएलटीका आयोजना ब्यवस्थापक सुवासचन्द्र शर्माले बताए ।
सवस्टेशनमा जडान गर्ने उपकरण आयात भइसकेको छ । भूमीगत पानी ब्यवस्थापन गर्ने संरचना बनाएर सवस्टेशनको काम थालिएको हो । हाल दैनिक एक सय जना मजदुरले काम गरिरहेका छन् । अम्बाङमा सव स्टेशन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।
१३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको ८२ वटा टावर मध्य हालसम्म ५१ वटा निर्माण सकिएको र १० वटा निर्माणाधिन रहेका एनएलटीका व्यवस्थापक शर्माले बताए । उनका केही दिनमा प्रशारण लाइनमा तार तान्नका लागि भारतबाट प्राविधिक र मजदुरहरु आउदैछन् ।
रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रशारण लाइनको टावर निर्माण स्थल हुन् । दुबै ठाउँमा यसअघिनै जग्गा ब्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवन समेत निर्माण भएको छ ।
म्याग्दी नदीमा एक सय ७२/८ मेगावाट क्षमताको चार वटा जलबिद्युत आयोजना निर्माण शुरु भएका छन् । राहुघाटमा ३५।५ मेगावाटको राहुघाट मंगले र ४८।५ मेगावाट क्षमताको अपर राहुघाट, २१।३ मेगावाट क्षमताको ठुलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजना निर्माणाधिन छन् । ५।५ मेगावाट क्षमताको बगरखोला, ४।७५ मेगावाटको स्यानोखोला, ४।९० मेगावाटको अपर ठुलोखोला र १५ मेगावाटको माथिल्लो ठुलोखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन् ।
तुदी पावरद्धारा निर्माणाधिन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत आपुर्ति गराउने तयारी गरेका छन् ।
तुदीले पिप्लेमा १३२ केभी प्रशारण लाइन मुनी र क्रसिङ हुने गरेर बनाएको टावर हटाउन डाडाखेत राहुघाट प्रशारण लाइन आयोजनाले ताकेता गरेको छ । डाडाखेत राहुघाट प्रशारण लाइनको ए ३ नम्बरको टावरलाई असर पर्ने गरेर तुदीले अस्थायी टावर बनाएको हो ।
प्रतिक्रिया