ताजा अपडेट »

छविलाललाई पुर्पक्षमा पठाउने रुपन्देही जिल्ला अदालतसँग उच्चले माग्यो कैफियत प्रतिवेदन

बुधबार, ३० माघ २०८१, २० : ५५
50 Shares
बुधबार, ३० माघ २०८१
50 Shares

बुटवल। नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी बन्जाडेलाई बुटवलको सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागार पठाउने आदेश आदेश दिएको रुपन्देही जिल्ला अदालतसँग उच्चअदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।

दुई दिनअघि सोमबार जिल्ला अदालत रुपन्देहीले जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरेपछि उनी उच्च अदालत गएका थिए । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले मंगलबार जोशीको तर्फबाट उनका छोरा रोचक जोशीले दिएको निवेदनको सुनुवाई गर्दै उच्चअदालत तुलसीपुर बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको जनाएका छन् ।

एक नम्बर इजलासका ‘न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको कुँवरले बताए । न्यायाधीश तिवारीको आदेशपछि छिट्टै कैफियत प्रतिवेदन प्राप्त हुने र त्यसपछि संयुक्त इजलासमा मुद्दाको सुनुवाई हुने उनले बताए ।

सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा रवि लामिछाने र जोशीसहित २२ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

तर लामिछानेलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर छोडेको थियो । जोशीलाई यसअघि पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा गरिएको थियो। उनीविरुद्ध चितवनको सहारा सहकारीको रकम ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको मुद्दामा जिल्ला अदालत रुपन्देहीले गोर्खा मिडिया नेटवर्क प्रालिका उपाध्यक्षसमेत रहेका जोशीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश सोमबार गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।