लुम्बिनी । रुपन्देहीको लुम्बिनीमा भारत र नेपालका क्रिकेट टोली सहभागी हुने गरी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ । यही फाल्गुन ३ (१५ फेब्रुवरी) बाट शुरु हुने प्रतियोगितामा भारतका १६ र नेपालका १६ गरी ३२ समूहको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।
स्थानीयस्तरबाटै खेलाडीलाई प्रोत्साहन गरी क्रिकेट खेलप्रति रुचि जगाउने उद्देश्यले ‘ लुम्बिनी प्रमियर लिग –८’ को नामले प्रतियोगिता हुन लागेको रिस्पोन्स टीम लुम्बिनीका संयोजक जमसंद खानले बताए । उनले अहिले हुने प्रतियोगिता आठौँ संस्करणको रहेको जानकारी दिए ।
प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगरलगायत जिल्लाबाट समूह दर्ता भएको आयोजक रिस्पोन्स टीम लुम्बिनी संयोजकले एजाज खानले जानकारी दिए । नेपालका विभिन्न स्थानबाट टोलीले प्रतियोगितामा भाग लिने खानले बताए ।
टेनिस बलले ‘नकआउट’ आधारमा खेलाइने यो प्रतियोगिता यस क्षेत्रकै लोकप्रिय प्रतियोगिता मध्ये पर्दछ । यस पटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको संयोजक खानले बताए । पहिलो पुरस्कार रू दुई लाख पचास हजार र दोस्रो पुरस्कार रू एक लाख पचास हजार तोकिएको संयोजकले एजाज खानले जानकारी दिए ।
यसैगरी, ‘बेस्ट बलर’, ‘बेस्ट ब्याटर’, ‘म्यान अफ दी म्याच’, ‘ गेम चेन्जर’, अनुशासित टोलीलगायत सेमी फाइनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको व्यवस्था रहेको रहेको छ । टीमका संयोजक ईमरान खानका अनुसार करिब रू २० लाख खर्च लाग्ने प्रतियोगिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका एवं स्थानीय दाताबाट सहयोग सङ्कलन गरिएको छ ।
यस्तै, लुम्बिनी खेलकुद परिषद् संग पनि बजेट माग गरिएको भएपनि सहयोगको कुनै ठोस निर्णय भैनसकेको ईमरान खानले बताए । विगतमा रात्रिकालिन इन्डो नेपाल प्रतियोगिता गरेर सफलता संगै चर्चा कमाएको स्मरण गर्दै इमरान खानले यस पटकको प्रतियोगिता निकै रोचक हुने भन्दै सबैलाई उपस्थितीका लागि आग्रह गरे ।
विगत देखीनै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस रिस्पोन्स टीम लुम्बिनीले प्रत्येक वर्ष इण्डो नेपाल क्रिकेट प्रतियोगिता गर्दै आएको छ । १२ दिन सम्म सञ्चालन हुने प्रतियोगिताको आगामी शनिवार पुर्व मन्त्री भरत कुमार शाहाले उद्घाटन गर्ने छन् । यस्तै पुर्व प्रदेश सांसद फकरुद्धिन खान , लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान , उपप्रमुख कल्पना हरिजन सहितका सामाजिक, राजनीतिक तथा खेलप्रेमी अतिथिहरुको उपस्थिती हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया