ताजा अपडेट »

भ्रष्टाचारको सूचकांकमा नेपाल १०७औं स्थानमा

मंगलबार, २९ माघ २०८१, ११ : ५३
50 Shares
मंगलबार, २९ माघ २०८१
50 Shares

काठमाडौं । विश्वव्यापी भ्रष्टाचार सूचकाङ्कमा नेपालले आफ्नो झिनो स्थान सुधार गरेको छ । व्याप्त भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको नेपाल १०० मा ३४ अंक पाएर १०७औँ स्थानमा परेको हो ।

भ्रष्टाचारसम्बन्धी अवधारणाको मापन गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मङ्गलवार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक ९सीपीआई०( २०२४ मा नेपाल यो वर्ष गत वर्षभन्दा एक स्थान तल झरेको छ ।

गत वर्ष नेपाल ३५ अंक पाएर १०८औँ स्थानमा थियो । विश्वभर एकैपटक सार्वजनिक गरिएको प्रतिवेदनमा दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ७२ अंकका साथ रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्क ७ वर्षदेखि लगातार ९० अंक प्राप्त गरी विश्वको सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक रूपमा रहेको छ । भने साउथ सुडान ८अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

दक्षिण एसियाली राष्ट्रमध्ये भुटानले ७२ अंक प्राप्त गर्दा भारतले ३८ अंक, मालदिभ्सले ३८ अंक, श्रीलंकाले३२ अंक,पाकिस्तानले २७ अंक, बंगलादेशले २३र अफगानिस्तानले १७ अंक प्राप्त गरेको छ । यस्तै चीनले४३ अंक प्राप्त गरेको छ ।

सूचकाङ्कमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्टाचार जनाउने गरेको छ । विगत५ वर्षमा ७ वटा मुलुकहरूले भ्रष्टाचार अवधारणा सूचकाङ्कमा उल्लेख प्रगति हासिल गरेको प्रतिवेदनले जनाएको छ ।

राजनीतिक नियुक्तिको कारणले भ्रष्टाचार बढेकोमा दुई मत नरहेको टीआई नेपालका अध्यक्ष मदन कृष्णा शर्माले बताए । अंक एक दुई स्थान घट्दैमा नेपालमा भ्रष्टाचारको अवस्था सुधार भएको मान्न नसकिने उनले बताए ।

भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२४ मा नेपालको नतिजाले भ्रष्टाचार विरुद्व प्रभावकारी रुपले काम–कारबाही अगाडि बढाउन अत्यन्त जरुरी भएको औंल्याएको अध्यक्ष शर्माले बताए ।
‘नेपालको यो नतिजा जस्ताको त्यस्तै अवस्थामा रहेको देखिन्छ । खुसी हुनुपर्ने हालमा छैनौ, उनले भने, ‘भ्रष्टाचारको अवस्था सुधार छैन ।’
ट्रान्सपरेन्सी इन्टरनेशनलले राजनीति, वित्त, न्यायलगायत ६ वटा मापदण्डको आधारमा देशहरूलाई वर्गीकरण गरी ३० वर्षदेखि भ्रष्टाचारको सूचकांक सार्वजनिक गर्दै आएको छ ।

के के छन् त भ्रष्टाचारको मात्रा मापन गर्ने सूचक?

ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष विश्वव्यापी रूपमा भ्रष्टाचार अवधारणा सूचकाङ्क (Corruption Perception Index (CPI)  सार्वजनिक गर्दै आएको छ ।

सीपीआईलाई विश्वभरनै भ्रष्टाचारको मात्रा मापन गर्ने प्रमुख सूचकको रूपमा लिने गरिएको छ ।

यस सूचकाङ्कले हरेक वर्ष नेपालसहित विश्वका १८० देशको भ्रष्टाचारबारेको अवधारणा संसारमा एकै समयमा सार्वजनिक गर्दै आएको छ । नेपालको सूचकाङ्क ६ वटा अन्तर्राष्ट्रिय संस्थाद्वारा विभिन्न क्षेत्र समेटेर गरिएको सर्वेक्षणलाई आधार मानी तयार गरिएको छ ।

बर्टेल्सम्यान फाउन्डेसनले पदको दुरुपयोगमा सार्वजनिक पदाधिकारीमाथि कतिको कारबाही हुन्छ र सरकारको भ्रष्टाचार नियन्त्रणको प्रयास कतिको सफल छ भन्ने सर्वेक्षण गरेको छ ।

ग्लोबल इनसाइटले व्यापार, व्यवसाय, ठेक्का–पट्टा, आयात निर्यातमा घूस र भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट ९भीडीईएम० ले राजनीतिक भ्रष्टाचारअन्तर्गत संसद्, कार्यपालिका र न्यायपालिका सम्बन्धित भ्रष्टाचारको व्यापकताजस्ता विषयमा सर्वेक्षण गरेको छ ।

विश्व बैङ्कले सरकारद्वारा सार्वजनिक पदाधिकारीहरूको काम–कारबाहीको निगरानी, नागरिक समाजलाई राज्यको सूचनामा पहुँच र सीमित व्यक्तिहरूको राज्य सञ्चालनमा पकडबारे सर्वेक्षण गरेको छ ।

वर्ल्ड इकोनोमिक फोरमले आयात निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्का–पट्टा र न्यायिक निर्णयमा भ्रष्टाचारबारे सर्वेक्षण गरेको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले सरकार, न्यायालय, संसद् र सुरक्षा निकायका प्रतिनिधिहरूद्वारा निजी स्वार्थका लागि सार्वजनिक पदको दुरुपयोग विषयमा सर्वेक्षण गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।