ताजा अपडेट »
उद्ममा यूवा

विदेश जाने तयारी छाडी दुनाटपरी उद्याेग, दैनिक तीन हजारसम्म आम्दानी

मंगलबार, २९ माघ २०८१, ०८ : ५४
46 Shares
मंगलबार, २९ माघ २०८१
46 Shares

सर्लाही । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक तीन हजारसम्म आम्दानी गर्दै आएका छन । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार समेत गरेका छन ।

सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिकेका उनले  नौ महिना पहिला उद्योग सुरुत गरेका हुन।

चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएका छन । हरिवन–१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए । विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनी बताउछन ।

“म कक्ष १२ (प्लस टु) सकेर विदेश जाने अन्तिम तयारीमा थिए”, उनले भने, “वडाध्यक्षसँग सहयोग माग्न जाँदा उहाँले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ । नगरले आयोजना गरेको लघु उद्यमसम्बन्धी सेमिनारमा गएपछि मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । रहर त जाग्यो  तर, लगानी नहुँदा निकै दुःख पाएँ । वडाअध्क्षकाे सहयोग पछि आज उद्यम गरिरहेको छु ।”

बजारमा दुनाटपरीको माग धेरै भएकाले तीन लाख ६० हजार पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए । यसअघि  दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेकाउनले  त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन गर्ने गरेका छन । अब दैनिक १० हजार बढी उत्पादन बजार पुर्याउने लक्ष्य छ”, उनले भने ।

नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ । यसबाट मजदुर, उत्पादन, बजारीकरण समेतको खर्च कटाएर दैनिक रु दुई हजार पाँच सयदेखि रु तीन हजारसम्म मुनाफा हुने उनले जानकारी दिए । रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री पनि हुने भएकाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्ताले समेत धेरै रुचाउने गरेको उनको अनुभव छ ।

जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरे । यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको उनी बताउछन । “सुरुमा नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन् । सुरुमा उद्यम सुरु गर्छुभन्दा पुँजी थिएन”, उनले स्मरण गरे, “ऋण माग्दा बैंक तथा वित्तीय सङ्घ संस्थाहरूले दिएनन् ।”

अहिले फोन गरेर ‘ऋण लैजानुस्’ भनिरहेका महतो बताउछन । पहिलो पटक हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीबाट लिएको रु एक लाख ऋणबाट सुरु भएको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो सङ्कट भोग्नु नपरेको उनले सुनाए।

जितेन्द्रले सञ्चालन गरेको भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलङ्गवालगायत बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनले बताए।

जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताउछन् । 

स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने वडाध्यक्ष केशवराज थापाले बताए । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनको भनाइ छ ।
---

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।