ताजा अपडेट »
कृषि उद्म

कुकुखुरा पालेरै मासिक पाँच लाख बचत, मेहनत गर्नसके देशमै छ कमाइ

मंगलबार, २९ माघ २०८१, ०८ : ११
54 Shares
मंगलबार, २९ माघ २०८१
54 Shares

 बागलुङ । बागलुङका सुरथ सुवेदी व्यावसायिक कुखुरा पालनमा १८ वर्षदेखि निरन्तर लाग्दै आएका छन् ।  बागलुङ नगरपालिका–६ का स्थाई बासिन्दा रहेका उनले हाल बागलुङ न.पा. वडा नं १३ को भाट खोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै आएका  छन।

एकाउन्न वर्षीय सुवेदीले व्यावसायिक कुखुरा पालनबाट मासिक पाँच लाख बचत गर्दै समेत आएका छन् । देशमा केही छैन भनेर यूवाहरू विदेशीन ललायीत भएका बेला कृषक सुवेदीले भने  विदेशकाे कमाइ परीवारसंगै स्वदेशमै बसेर कमाउदै आएका छन ।   १८ वर्षमा थुप्रै असफलता व्यहोर्दै अहिलेकाे सफलता सम्म पुगेको उनी बताउँछन्। उनले १० वर्षयता बागलुङ र त्यसभन्दा पहिले चितवनमा कुखुरा पाल्दै आएका हुन् ।

अहिले उनको कुखुरा फार्ममा पाँच हजार पाँच सय कुखुरा छन् । सरदरमा दैनिक पाँच हजार अण्डा बजारमा बिक्री लागि जाने सुवेदीले जानकारी दिए । “धेरै पटक असफलता व्यहोर्नु पर्‍यो, त्यही असफलताबाट पाठ सिकेर अघि बढ्दा सफलता पाइदो रहेछ”, उनले भने, “हार मानेको भए, अहिले व्यवसाय छाडिसकेको हुन्थेँ, निरन्तरको प्रयासले यहाँसम्म ल्याएको छ । अहिले मासिक पाँच लाख बचत हुन्छ, गत वर्ष कुखुराले अण्डा नदिँदाको घाटा अहिले पूरा गर्दैछु ।”

उनले विसं २०६३ मा चितवन गएर सुरुमा बोइलर जातको कुखुरा पाल्न थाले पनि पछिल्लो १० वर्षयता लियर्स जातको कुखुरा पाल्दै आएका छन् । चितवनमा निरन्तर सफलता हासिल गर्दै गए पनि १३ हजार कुखुरा बर्डफ्लुका कारण मरेपछि फर्केर बागलुङ आएको सुवेदी बताउँछन् ।

“मनग्ये आम्दानी भइरहेको थियो तर एकै पटक बर्डफ्लु आएपछि सबै घाटामा गयो, त्यसले निराश भएर बागलुङ फर्के, त्यसयता राम्रो भइरहेको थियो, गत वर्ष कुखुराका चल्लाले अण्डा नदिएपछि रु ६० लाख घाटा पर्‍यो । अहिले राम्रो छ, पोहोरको घाटालाई अहिलेको नाफाले सघाएको छ”, उनले भने । लामो समय हुर्काएका कुखुराले अण्डा नदिँदा घाटा भएको उनको भनाइ छ ।

विसं २०७० मा पाँच जनाको समूहले भाटे खोलामा लेयर्सजातको कुखुरा पाल्न थाले पनि अहिले आफ्नो निजी फार्म सञ्चालन गरेको सुवेदी बताउँछन् । उनका अनुसार उक्त फार्ममा अहिलेसम्म रु ६० लाख लगानी भइसकेको छ । कृषिमा उल्लेख्य नतिजा प्राप्त गर्न प्राविधिक ज्ञानसमेत हुन आवश्यक रहेको उनले उल्लेख गरे ।

“पोहोर ५२ सय चल्ला हालेँ, तर एक सय ५० वटाले मात्र अण्डा पारे अरूले पारेनन्, ११ महिनाको अवधिमा राम्रो अण्डा नआउँदा र दाना खर्चमा झन्डै रु ७० लाख घाटा भयो”, सुवेदीले भने, “यो पेसामा निकै जोखिम छ, तर प्राविधिक रूपमा जानकारी भएमा आम्दानी प्रशस्त गर्न सकिन्छ । जोखिम नियन्त्रणका लागि केही रकम सङ्कलन गर्न सक्ने हो भने घाटा छैन, अहिले मासिक  पाँच लाख नाफा हुन्छ, अण्डाको मूल्य मनग्ये पाइएको छ ।” फार्ममा उत्पादित अण्डा आफैँले गाडीमार्फत म्याग्दी, पर्वत र बागलुङ बजारमा बिक्री गर्दै आएको उनले बताए ।

बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा, सरकारको सहयोगमा कमी, कृषि गर्नेप्रति समाजको नकारात्मक दृष्टिकोण लगायत कारणले कृषि क्षेत्र फस्टाउन नसकेको बताउँदै प्राविधिक सहयोग निरन्तर पाउनुपर्नेमा सुवेदीले जोड दिए ।रासस

फार्ममा श्रीमती शिला सुवेदीले निरन्तर साथ र उत्प्रेरणा दिँदै आएकी छन् । सुवेदी परिवारले २२ रोपनी जग्गा वार्षिक रु ६० हजार भाडामा लिएर फार्म सञ्चालन गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।