ताजा अपडेट »

लुम्बिनी प्रदेश : तथ्याङ्कमा

मंगलबार, २९ माघ २०८१, ०८ : ३०
274 Shares
मंगलबार, २९ माघ २०८१
274 Shares

बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लाभित्र एक सय नौ पालिका छन् । जसमध्ये ४ वटा उपमहानगरपालिका, ३२ वटा नगरपालिका र ७३ वटा गाउँपालिकाहरु छन् । जसमा ९८३ वडाहरु कायम छन् । ऐतिहासिक, प्रागैतिहासिक, पुरातात्विक, धार्मिक, प्राकृतिक एवम् पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण रहेको लुम्बिनी प्रदेशमा बसोबास गर्नेको जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको छ । देशको कूलजनसंख्याको १७.५७ प्रतिशत् नागरिक यसै प्रदेशमा बसोबास गर्दैआइरहेका छन् । ब्राह्मण, क्षेत्री, मगर, थारु, दलित लगायत जातिको बसोबास बाक्लो रहेको यो प्रदेशमा बहुसांस्कृतिक, बहुधार्मिक र विविधतामा एकता कायम छ । 

१५–५९ उमेरका नागरिकहरुको जनसंख्या यस प्रदेशमा ६१.९ प्रतिशत् रहेको पाइन्छ । यो सक्रिय जनसंख्याबाट यस प्रदेशको उन्नति, प्रगति र समृद्धिका लागि हदैसम्मको सहयोग प्राप्त हुन सक्छ । त्यसका लागि सरोकारवाला निकायहरुले उचित नीति, योजना  र कार्यक्रम तय गरी कार्यान्वयन गरेमा परिणाम सकारात्मक निस्किन सक्छ । ६० वर्ष माथि उमेरका नागरिकहरु यस प्रदेशमा ९.६ प्रतिशत् रहेको छ । १४ वर्षमूनिकाको जनसंख्या २८.५ प्रतिशत् रहेकोले पनि सुन्दर संकेत गरेको पाइन्छ । भविष्यका लागि यो जनसंख्याले केही नतीजामुखी परिणाम दिन सक्नेछ । 

यस प्रदेशले अन्य प्रदेशको तुलनामा विकासमा फड्को मार्न सक्छ । अन्नभण्डारका रुपमा रहेका बाँके, बर्दिया, दाङ, कपिलबस्तु, रुपन्देही र पश्चिम नवलपरासीले लुम्बिनी प्रदेशलाई मज्जाले पाल्न सक्छ । उन्नत कृषिप्रणाली, प्रविधिमैत्री तथा सक्षम जनशक्तिको प्रयोग गर्न सकिएमा यस प्रदेशले आफूलाई पालेर पनि आफ्नो उत्पादन अरुलाई निर्यात गर्न सक्ने खुबी राख्दछ । पहाडका जिल्लाहरुमा पशुपालन, जडीबुटी खेती, फलफूल खेतीमा प्रश्रय र पर्यटकीय गन्तव्य बनाउन सकिएमा पक्कै पनि आम्दानीको बाटो फराकिलो हुन सक्नेछ । हीलस्टेशनका रुपमा विकास सम्भव रहेका पहाडहरुले विकास र पर्यटकहरु पर्खिरहेका छन् । 

नेपालमा कूल साक्षरता प्रतिशत् ७६.२ प्रतिशत् रहँदा यस प्रदेशमा पाँच वर्ष वा सो माथि उमेरका कूल जनसंख्याको साक्षरता प्रतिशत् ७८.१ प्रतिशत् रहेको पाउन सकिन्छ । यसले पनि लुम्बिनी प्रदेशको समग्र विकासमा निम्ति सहयोग मिल्न सक्छ । साक्षर जनसंख्या बढी हुनु स्वभाविक रुपमै विकासका लागि लाभदायक सूचक हो । यसको प्रयोगले पक्कै पनि लुम्बिनी प्रदेशको मुहार फेर्न सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सक्नेछ । २०७८ को जनगणना अनुसार लुम्बिनी प्रदेशमा एसईईभन्दा माथि पढेकाको प्रतिशत् १५.२ रहनु काफी त होइन तर शुभसंकेत भने हो । 

२०७४ माघ २१ गते पाँच नम्बर प्रदेशको नाममा स्थापित लुम्बिनी प्रदेशले सातौं स्थापना दिवस मनाइसकेको अवस्थामा लुम्बिनी प्रदेशमा रहेका नागरिकहरुको जीवनशैली कति परिवर्तन भए ? प्रदेश सरकार स्थापना भएपछि जनताहरु संघीय सरकारमा भरपर्नुपर्ने अवस्था कति रह्यो ? प्रदेशबाट प्रदेशवासीहरुले के कस्ता सेवा तथा सुविधा प्राप्त गरे ? प्रदेश सरकार जनताको नजिकको सरकार बन्न सक्यो कि नाइँ ? संघीय सरकार र स्थानीय तहको पुलको रुपमा प्रदेश सरकार बन्यो कि बनेन ? प्रदेश सरकार जनताको दुःख, सुखको साथी बन्यो कि बनेन ? यावत प्रश्नहरुकामाझ प्रदेश सरकार रहेको छ । यस प्रदेशमा हालसम्म चारजना प्रदेश प्रमुख बनेका छन् भने मुख्यमन्त्री बन्नेको संख्या ६ पुगेको छ । 

लुम्बिनी प्रदेशका ७३ वटा गाउँपालिकाहरुमा भन्दा ४ वटा उपमहानगरपालिका र ३२ वटा नगरपालिकामा बसोबास गर्नेको जनसंख्या बढी देखिन्छ । नगरपालिकाभित्र बस्नेहरुको जनसंख्या ५५.२ र गाउँपालिकाभित्र बसोबास गर्नेको जनसंख्या ४४.८ प्रतिशत् कायम छ । यो तथ्याङ्कले नागरिकहरु सहरोन्मुख भइरहेको पाइन्छ । विकासका लागि वजेट गाउँतिर तर जनता सहरतिर थुप्रिरहेका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीमा सबैभन्दा धेरै जनसंख्या बढेको देखिन्छ । यहाँ वर्षेनी २.३३ प्रतिशतका दरले जनसंख्या वृद्धि भइरहेको पाइन्छ । प्रति वर्ग किमी एक सय ९८ जनघनत्व रहेको नेपालमा, लुम्बिनी प्रदेशको रुपन्देहीमा ८२५ प्रति वर्ग किमी जनघनत्व रहेको पाइन्छ । जनसंख्या वृद्धि दरमा भक्तपुरपछि रुपन्देही पर्छ । 

जनसंख्या बढ्नु वा घट्नुका अनेक कारणहरु छन् । होलान् । विकास निर्माणका लागि जनसंख्या एउटा आधार हुन सक्ला तर सबै आधार यो नहुन पनि सक्छ । लुम्बिनी प्रदेशको जनसंख्या २०६८(४४,९९,२७२) को तुलनामा २०७८ मा बढेको पाइन्छ । यहाँको बसाइँसराइले केही तात्विक फरक पार्नेनै छ । लुम्बिनी प्रदेशमा बसाइँ सर्नुका खास कारण विवाह (३९.२ प्रतिशत्) देखिन्छ । कामको खोजी वा रोजगारीका कारण बसाइँ सर्नेहरुको प्रतिशत् ११.७ रहेको छ । व्यापार व्यवसाय गर्नेहरु २.९ प्रतिशत् रहेका छन् भने अध्ययन वा तालिमका लागि बसाइँ सर्नेहरु ६.१ प्रतिशत् भेटिन्छन् । अध्ययन वा तालिम प्राप्त पछि उनीहरु सम्बन्धित स्थानमा फर्केलान् आशा गर्न सकिन्छ । जनगणना २०७८ अनुसार लुम्बिनी प्रदेशमा जन्मस्थान र हालको बसोबास एउटै गाउँपालिका वा नगरपालिका भएका ब्यक्तिहरुको जनसंख्या ७१.२ प्रतिशत् रहेको पाइन्छ । २०६८ मा चार लाख १० हजार सात सय ५१ जना विदेशमा बसोबास गर्न गएका थिएभने २०७८ मा यो संख्या बढेर चार लाख २० हजार नौ सय ६ जना पुगेको छ । 

नेपालको जनसंख्या वृद्धि दर ०.९२ प्रतिशत् रहँदा लुम्बिनी प्रदेशको १.२४ प्रतिशत् रहेको छ । यहाँको औसत परिवार संख्या ४.४९ रहेको देखिन्छ । राष्ट्रियस्तरमा नेपालीको औसत आयु ७१.३ वर्ष रहँदा लुम्बिनी प्रदेशबासीको औसत आयु ६९.५ वर्ष रहेको छ । यसको कारण खोज्नु पर्नेछ । औसत् आयु कम हुनुका विविध कारणहरु हुन सक्छन् । राज्यले दिने स्वास्थ्य सेवा, पौष्टिक आहार, स्याहार, सुसार, सूईखोप र मानिसले अपनाउने आनीबानी,आहारविहार नै प्रमुख हुन सक्लान् । यस प्रदेशमा विहे गर्नेहरुको औसत उमेर १९ भेटिएको छ ।  विवाहको उमेर २० वर्ष तोकिए पनि यसो हुनुको अर्थ अनेक लाग्लान् । 

तथ्य, तथ्याङ्कले लुम्बिनी प्रदेश बलियो देखिन्छ । यसलाई राम्रोसँग केलाएर सोही अनुसारको नीति निर्माण, योजना तर्जुमा र कार्यक्रमको तय गरी कार्यान्वयन गर्न सकिएमा लुम्बिनी प्रदेश अन्य प्रदेशको तुलनामा सक्षम, समृद्ध प्रदेश बन्ने कुरामा कुनै दुईमत छैन । लुम्बिनी प्रदेशमा रहेका प्राकृतिक स्रोत, साधनको समुचित प्रयोगका लागि योजनावद्ध खाका र कार्यान्वयनमुखी कार्यक्रम आवश्यक  देखिन्छ । त्यसमा देखापर्ने कानुनी उल्झन, नीतिगत अस्पष्टता, प्रशासनिक व्यवधान, स्थलगत समस्याहरु र चुनौतीका पहाडहरुलाई छिचोल्दै समाधानका लागि अघि बढेमा लुम्बिनी प्रदेशको भविष्य सुन्दर छ । 
(स्रोतः राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली, काठमाडौं । ) 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार