ताजा अपडेट »

इच्क्षाा शक्ति भए अपाङ्गताले छेक्दैन, परिवारको सहारा बनेका छन् विकिन्द्र

सोमबार, २८ माघ २०८१, २१ : ५४
48 Shares
सोमबार, २८ माघ २०८१
48 Shares

बरहथवा (सर्लाही) । एउटा खुट्टाले दैनिक २० किलोमिटरसम्म साइकल चलाएर परिवारको गर्जो टारिरहेको सुन्दा अनौठो लाग्छ तर सर्लाहीका एक व्यक्तिको दैनिकी यसरी नै बितिरहेको छ । त्यो पनि विगत १५ वर्षदेखि । ति व्यक्ति हुन, चन्द्रनगर गाउँपालिका–५, मोहनपुर, सर्लाहीका विकिन्द्र सिंह ।

उमेरले ३५ वर्ष लागेका उनी विगत १५ वर्षदेखि एउटा खुट्टाको सहारामा साइकलमा पाउरोटी बेच्छन । करिब ५०-६० किलोग्राम पाउरोटी राखेर हरेक दिन गाउँका पसल तथा घरघरमा पुर्याउछन ।

उनको दायाँ खुट्टा पोलियोका कारण जन्मजात काम नलाग्ने भएको थियो । त्यो देखेर परिवार र समाजका मान्छेले पनि अब बोझ हुने भयो भनेर कुरा काट्ददै हिँड्ने गरेका थिए । तर उनले हिम्मत हारेनन्, बरु सबैका अगाडि उदाहरणीय बनेर देखाएका छन । बायाँ खुट्टाको सहाराले उनले पाउरोटी बेचेर छ जना परिवारको पालनपोषणको जिम्मेवारी सम्हालिरहेका छन ।

सिंहले गाउँकै स्कुलमा कक्षा पाँचसम्म अध्ययन गरे तर आर्थिक अभावका कारण त्योभन्दा बढी पढ्ने अवस्था भएन । विपन्न माझी समुदायका सिंहकाे परिवारलाई दैनिक हातमुख जोर्न पनि धौधौ थियो । पेट पाल्न दैनिक मजदुरी गर्नुबाहेक अर्को उपाय यो परिवारसँग थिएन ।

बुबाआमाको मजदुरीबाट परिवारको छाक नटरेपछि पढाइलाई निरन्तरता दिन नसकिएको उनको भनाइ छ । “त्यसैले आफ्नो र परिवारका लागि केही गर्नुपर्छ भनेर १३ वर्षकै उमेरमा देश छोडेर भारतको दिल्ली पुगे । त्यहाँ छ महिनासम्म साडीमा बुट्टा बनाउने काम गरे । काम सिक्न लागेकै बेला सिलाइकटाइ सिक्न भन्दै भारतकै लुधियाना पुगेँ । त्यो कामसमेत चित्त नबुझेपछि वर्ष दिन घुमेर फेरि घरमा नै  आइपुगेँकाे सिंह बताउछन।

घर त फर्किइयो तर काम थिएन । घरको जेठो दाजु छुट्टिएर अलग्गै बसेपछि परिवारको सबै जिम्मा सिंहको काँधमा आयो । त्यसपछि नै हो विकेन्द्रलाई एउटै खुट्टा र साइकल चलाउने सीपले हिम्मत दिएको । “सुरूमा के गर्ने भन्ने अन्योल भयो । एउटै खुट्टाले साइकल कुदाउने गरेको थिए । त्यसै सीपलाई प्रयोग गरेर पाउरोटी बेच्ने हिम्मत जुटाएको हुँ । अहिले त यसैमा अभ्यस्त बनिसके”, उनले सुनाए । पाउरोटी बेचेर सिंहले १२ वर्षीया छोरी, १० वर्षीय छोरा, आमा, बुबा, श्रीमती र आफ्नो सबै खर्च धानेको बताए ।

जिल्लाको पूर्वपश्चिम राजमार्गस्थित नवलपुरमा रहेको पाउरोटी उद्योगको गाडीले बिहान ५ बजे उनको घरमा पाउरोटी पु¥याइदिन्छ । त्यसपछि सुरू हुन्छ सिंहको दैनिकी । दैनिक बिहान ५ बजेबाट ११ बजेसम्म २० किलोमिटरसम्म यात्रा गरेर उन रु चारदेखि पाँच हजारको पाउरोटी बेच्छन् । त्यसबाट दैनिक रु आठदेखि नौ सय कमाउने गरेको उनले सुनाए ।

“मेहनतअनुसार महिनाको रु २४ देखि २७ हजारसम्म आम्दानी गरिरहेको छु । घर परिवार राम्रोसँग चलिरहेको छ । पाउरोटी बेच्न थालेपछि दैनिक छाक टार्ने चिन्ता छैन”, सिंहले भने । पछिल्लो समय पाउरोटी बोक्ने बाकसमा प्वाल र साइकसमेत पुरानो भएपछि चिन्तामा परेका सिंहलाई एक जना व्यक्तिले सहयोग गरेपछि थप उत्साहित भएर काम गर्ने जाँगर आएको छ ।

आफूजस्ता विपन्न तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई स्थानीय सरकारले भने कुनै सहयोग नगरेकामा उनको दुःख मनाउ छ । सिंह भन्छन “मनकारी व्यक्तिले नयाँ साइकल र बाकस दिए तर अब उमेर बढ्दै जाँदा समस्या पनि थपिँदै गएको छ । कसैले तीनपाङ्ग्रे स्कुटर दिए त धेरै सजिलो हुने थियो । सजिलोसँग व्यापार गर्थे । आफूले कमाएको पैसा परिवारको दैनिक आवश्यकतामै खर्च हुन्छ, किन्ने अवस्था छैन ।”

स्थानीय फरक क्षमता भएका युवा शिवनाथ कहर अशक्त भएर पनि केही गर्ने जाँगर भएका युवालाई स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउछन् ।

विकिन्द्रजस्ता अन्य व्यक्तिले समस्या देखाएर मागेर खानुपरेका कैयन उदाहरण हाम्रै वरिपरि छन् । उनले भने आफ्नो मात्रै होइन छ जना परिवारको लालनपालनका लागि सङ्घर्ष गरिरहेका छन  । यस्ता व्यक्तिलाई तीनै तहका सरकारले विशेष सहयोग गरी थप प्रोत्साहन गर्नुपर्ने नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीको भनाइ छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।