बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत उपचार गराउन आउने सेवाग्राहीहरुका लागि डेडिकेटेट फार्मेसी स्थापना गरिएको छ । अस्पतालमा भीड व्यवस्थापन तथा सेवालाई सहज बनाउन थप गरिएको फार्मेसीले सहयोग गर्ने अपेक्षा गरिएको छ ।
फार्मेसी सेवाको समुद्घाटन गर्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले गुणस्तरीय स्वास्थ्ये सेवासँगै सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको उल्लेख गरे । सरकारले लागू गरेको बीमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भएपनि स्वास्थ्य संस्थाहरुलाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उल्लेख गरे । लुम्बिनी प्रादेशिक अस्पतालमा समेत सरकाले २२ करोड बढी बीमा कार्यक्रमको रकम भुक्तानी नगर्दा समस्या भएको गुनासो गरे । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार दैनिक ६ सयदेखि ९ सयसम्म सेवाग्राहीहरु बीमा सेवा कार्यक्रम अन्तरगत उपचारका लागि आउने गर्दछन् । बीमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घण्टौं लाइनमा बस्नुपर्ने समस्या कम हुने उल्लेख गरे । अस्पतालमा सवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरहरुमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्स-रे सुविधा, ल्याब प्रयोगशाला बिस्तार लगायतका योजना रहेको उल्लेख गरे ।
अस्पतालमा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका १११८ प्रकारका औषधि), रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स-रे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बीमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताए ।
प्रतिक्रिया