ताजा अपडेट »

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

शनिबार, २६ माघ २०८१, २० : ११
14 Shares
शनिबार, २६ माघ २०८१
14 Shares



दिपायल  ।  अपाङ्गता भएका यहाँका व्यक्तिलाई उनीहरुका घरमै पुगेर नागरिकता वितरण गरिएको छ ।

बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका हुन् ।  

शारीरिक रूपमा पूर्ण अशक्त उनीहरु नागरिकता लिन प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको  प्रजिअ जोशीले बताए । उनले भने, “हामीले एक मानसिक तथा शारीरिक र एक शारीरिक रूपमा अशक्तलाई नागरिकता उपलब्ध गराएका छौँ । उहाँहरूले पहिले नाबालक परिचय पत्रबाट सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको रहेछ ।”

 जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कोही त्यस्ता व्यक्तिहरू भएमा घरमै गएर नागरिकता उपलब्ध गराउन सकिने प्रजिअ जोशीले बताए ।   

बोगटान फुड्सिल गाउँपालिका– ५ उपल्लागाउँका सुरेश बोहराले घरमै नागरिकता पाउँदा खुुसी व्यक्त गरे । गाउँपालिकाको सहजीकरणमा वडाबाट कागजात बनाएर प्रशासन कार्यालयमा आवश्यक प्रक्रिया पूरा गरी घरमै नागरिकता उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

नागरिकता बनाउने उमेर पुगेका तर नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ता रोकिने अवस्था आएपछि प्रशासनसँग सहजीकरण गरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।