ताजा अपडेट »

अध्ययन संस्कृतिको विकासमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा जोड

शुक्रबार, २५ माघ २०८१, १७ : ५६
16 Shares
शुक्रबार, २५ माघ २०८१
16 Shares

काठमाडौं । पठन संस्कृतिको प्रवर्द्धन गर्न तथा पुस्तकालयको दिगो विकास र संरक्षणमा राज्यको सक्रिय सहभागिता हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । 

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २१औँ वार्षिक साधारणसभाका अवसरमा आज यहाँ आयोजित समारोहमा सहभागीले पुस्तकालयको संरक्षण, व्यवस्थापन, अध्ययन संस्कृतिको प्रवर्द्धनमा राज्य तथा स्थानीय तह लाग्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले पुस्तकालय अध्ययनशील समाज निर्माणको आधार भएकाले यसको संरक्षण, व्यवस्थापन, प्रवर्द्धनमा महानगरले आवश्यक सहयोग गर्ने बताइन् । उनले भनिन्, “पढ्ने बानी बसाल्न पुस्तकालयको महत्वपूर्ण भूमिका हुन्छ । अध्ययनशील समाज नै समृद्ध समाज हो । पुस्तकालयले सबैलाई पढ्ने वातावरण दिन सक्छ ।”

महानगरका साथै प्रत्येक वडा र विद्यालय तहबाट अध्ययन संस्कृतिको विकास गर्न सामुदायिक अध्ययन केन्द्रहरूको प्रवर्द्धनमा जोड दिइएको डङ्गोलले उल्लेख गरिन्। उनका अनुसार महानगरले पुस्तकालय व्यवस्थापन तथा संरक्षणमा विशेष ध्यान दिँदै चालु आर्थिक वर्षमा रु एक करोड बजेट व्यवस्था गरेको छ । साथै सार्वजनिक पुस्तकालयको संरक्षणका लागि महानगर अभिभावकत्व ग्रहण गर्न तयार रहेको उनले बताइन् ।

प्रतिनिधिसभाका सांसद सन्तोष परियारले पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रूपमा विकास गर्न राज्यको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिए । उनले भने, “देशको अवस्था बदल्न पुस्तकको पाना बदल्ने बानीको विकास आवश्यक छ । पठन संस्कृतिको प्रवर्द्धनका लागि पुस्तकालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले यसको विकास र संरक्षणमा राज्य गम्भीर हुनुपर्छ ।”

समाजका संस्थापक अध्यक्ष तथा संरक्षक डा .नारायण खड्काले पुस्तकालय ज्ञान र सूचनाको केन्द्रमात्र नभई मुलुकको परिवर्तन, सभ्यता र इतिहासको वैभवसमेत भएको बताउँदै यसलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

समाजका अध्यक्ष डा. गोविन्द पोखरेलले पुस्तकालयको संरक्षण तथा व्यवस्थापनमा सबै सरोकार भएकाको सहकार्य अपरिहार्य रहेको बताउँदै पुस्तकालयलाई अध्ययन संस्कृतिको केन्द्रका रूपमा अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।