ताजा अपडेट »

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँः उपप्रधानमन्त्री सिंह

शुक्रबार, २५ माघ २०८१, १३ : ४४
10 Shares
शुक्रबार, २५ माघ २०८१
10 Shares

काठमाडौं ।  उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । आज काठमाडौं महानगरपालिका–२९ को वडा भवन उद्घाटन गर्दै उनले कतिपयले संविधान जारी गर्ने कुरालाई पनि केही होइन भन्ने गरेको भन्दै आपत्ति जनाए । 

“संविधान जारी गर्नु पनि केही होइन भन्छन् । के गर्दा ठूलो काम हुने रहेछ यहाँ ? काम गर्नेहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?” उनले प्रश्न गरे, “तपाईंहामीले होहल्ला गर्नेहरूको नियत के हो बुझ्नुपर्याे ? राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूबारे ठण्डा दिमागले लेखाजोखा गर्न आवश्यक छ ।”

उपप्रधानमन्त्री सिंहले नागरिकको चाहनाअनुसार स्थिर सरकारका लागि कांग्रेस–एमाले मिलेको भन्दै सोहीअनुसार काम भइरहेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको जिकिर गरे । 

यसैगरी उनले उपयोगविहीन सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्नेमा जोड दिँदै सरकारले त्यसका लागि काम गरिरहेको बताए । उपप्रधानमन्त्री सिंहले आफूले प्रतिनिधित्व गर्ने काठमाडौं क्षेत्र नं १ मा सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको उल्लेख गर्दै अब स्वास्थ्य क्षेत्रमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।