मगरजातिका आफ्नै भाषा र भेषभूषा छन् । आफ्नै रीतिरिवाज, चालचलन र परम्परागत मूल्य-मान्यताहरु छन् । आफ्नै धर्म, संस्कार, संस्कृति र सभ्यताकै कारण मगरजाति, सम्पदाले सम्पन्न जातिका रुपमा परिभाषित छ । ठाउँ, परिवेश र परम्परामा केही भिन्नता भने भेटिन्छन् । जाति एउटै भएपनि ठाउँअनुसार भाषामा भिन्नता नपाइने भने होइन ।
मगरजातिका अनेक थरहरु छन् । जन्मदेखि मृत्युसंस्कार पनि विविधता छन् । तरपनि मगरजातिमा एकता बलियो धरोधर बनेको छ । देखापरेका समस्याहरुलाई समाधान गर्न एकजुट छन् । मतऐक्यता नै ऐक्यवद्धताको नमूना हो । मगरजाति चाहे पूर्वका हुन् वा पश्चिमका । चाहे दक्षिणका हुन् वा उत्तरका । सबैमा जातीय भावना सञ्चारित छन् । हामी एक हौं भन्ने परम्परागत भावनाले राज गरेकै छ ।
तत्कालीन बाईसे होस् वा चौबीसे राज्यका मगर किन नहुन् ? उनीहरुमा जातीय एकताको सूत्र मगर बनेर नै बाँटिएको छ । बोल्दा, हाँस्दा वा काम गर्दा वा हिड्दा, डुल्दा मगरहरुमा देखिने हँसिलोपना, खुसी भईरहने बानी र फरासिला व्यवहारले, मगर हुनुमा मगरजातिलाई उत्साह थपिरहन्छ ।
मगरहरु, राज्यको तथ्यांकमा पढालिखा जातिमा पर्छन् । देश, विदेशमा पहुँच भएको समृद्ध जातिको रुपमा गनिन्छन् । आर्थिक सम्पन्नताको परिचायक नै मगर देखिएका छन् वर्तमानमा । धार्मिक एवम सामाजिक गतिविधिहरुमा मगरजातिको उपस्थिति र सक्रियता तुलनात्मक रुपमा अघि नै देखिन्छ । मगरहरुलाई राज्यको मूलधारमा भेटाउन सजिलै भएको छ यतिबेला । पार्टीका माथिल्लो पङ्तिमा देखिन थालेका छन् । निजामति होस् वा संस्थान, सरकारी स्कूलमा होस् वा संस्थागत विद्यालयमा मगरजातिको उपस्थिति कतै कमजोर छैन । सहकारीमा होस् वा बैंकमा,बजारमा होस् वा ब्यापारमा, चिकित्सा वा इन्जिनियरिङ्गमा अचेल मगरजाति नभेटिने ठाउँ नै छैन ।
सरकारमा होस् वा सडकमा ,सदनमा होस् वा संवादमा मगरजातिको उपस्थिति कमजोर छैन । यी सबै कुराको एउटै जरो भनेको मगरजातिको एकता र अघि बढ्ने दृढ संकल्प नै हो । लड्ने भएर नै लाहुरे संस्कृतिमा बाँचेका मगरजाति विवेकको लडाइँमा लम्पसार परेका छैनन् । मगरजाति,आफ्ना हकहित र अधिकारसँगै कर्तव्यको सगरमाथा उक्लिने यात्रामा छन् ।
पाल्पा तिनाउ, वडा नं.५, मरामकोटका स्थायीबासिन्दा पूर्णबहादुर खाम्चा मगर, २०८१ कार्तिकमा ७६ वर्ष पुगे । तत्कालीन मस्याम गाविसका दुई पटकसम्म अध्यक्ष भएका उनी प्रगतिशील विचार राख्छन् । धर्म निरपेक्षतामा देश गइसकेपछि आफ्नो गाउँघर र समाजमा मान्दै आइएका धर्म, संस्कार र रीतिरिवाजमा आमूल परिवर्तन आएको खाम्चा बताउँछन् ।
उनका अनुसार मगरजातिमा महिलाहरुले महिनावारी (बाहिर सर्दा) पाँच दिनसम्म अनिवार्य बार्ने चलन छ । त्यतिबेला कुनैपनि धार्मिक कार्य हुँदैनन् । भान्सामा पस्ने चलन पनि हुँदैन । घाँस,दाउरा गर्ने,बाहिरै बस्ने,गोठ वा कटेरामा सुत्ने चलन भएतापनि पहिलाका तुलनामा यो चलन हराउँदै गएको उनले बताए । साथै उनका अनुसार आमा बनिसकेकी महिलाले महिनावारी हुँदा तीन दिनमात्र बारे हुने चलन आफ्नो गाउँमा रहेको समेत सुनाए ।
पूर्वखोला गाउँपालिका वडा नं.२,जल्पा, ढोलीमाराकी माया रानाले भनिन्– खस,आर्य जातिका संगतमा रहेका मगर महिलाहरुले महिनावारीलाई सांस्कृतिक चलनका रुपमा लिएर पाँच दिनसम्म छोइछिटो गर्ने चलन छ । यतिबेला पानी बोक्न नपाइने, भान्सामा पस्न नपाइने, छुट्टै सुत्नुपर्ने, खाएको भाँडाकुँडा छुट्टै राख्नुपर्ने,आफैले माँझेर घाममा सुकाउनु पर्ने चलन रहेको माया रानाले बताइन् । मगरजातिको मात्र बसोबास रहेको ढोलीमारा गाउँमा भने मगर महिलाहरुले महिनावारी बार्ने चलन खासै छैन वा बार्ने चलन हराउँदै गएको समेत उनले सुनाइन् ।
त्यसैगरी तिनाउ गाउँपालिका वडा नं. ४, सत्यवती मन्दिर तथा ताल क्षेत्र वरिपरि रहेका मगर महिलाहरुले सत्यवती मन्दिर भएकै कारण महिनावारीलाई कडाईका साथ लागू गर्ने चलन रहेको स्थानीय दिलकुमारी सुनारी मगरले सुनाइन् । उनले भनिन्– गाउँमा सत्यवती बजैको मन्दिर र ताल छ । महिनावारी हुँदा त्यहाँ जाने र छुने चलन पटक्कै छैन । महिनावारी हुँदा छोइछिटो बार्ने पुरानो चलन अझै कायम छ ।
यहाँका महिलाहरु महिनावारी हुँदा मन्दिर र तालका वरिपरि जाँदैनन् । बजै रिसाउने डरका कारणले पनि यहाँका मगर महिलाहरुले महिनावारी बार्ने चलनलाई अनिवार्य पालना गर्दै आएको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाको भनाइ छ ।
पूर्णबहादुर खाम्चाले भनें– हाम्रो गाउँमा महिनावारी भएको तीन महिनासम्म गर्भवती भएको एकीन नहुने भएकोले पूजापाठ नरोकेपनि चौथो महिना वा गर्भवती भएको ठहरिएपछि धार्मिक कामकाज पूर्णरुपमा रोकिन्छ । उनका अनुसार महिला गर्भवती भएको समयमा घरमा कुनैपनि पूण्यकाम गरिदैन । कूलपूजा लगायतका सबै पूजाआजा ठप्प हुने रहेछन् । कसैका घरबाट ल्याइएका पूजाका प्रसादी समेत गर्भवती र उनका श्रीमानले खाने चलन नहुने पूर्णबहादुरले बताए ।
बच्चा जन्मिएपछि ११ दिनमा न्वारान गर्ने चलन उनको गाउँमा अद्यावधि नै छ । यो चलन उनको गाउँमा कायम रहेको बताउने पूर्णबहादुरले सुत्केरीलाई अँध्यारो कोठामा सुताउने चलन आफ्नो गाउँघरमा नरहेको बताए । सुत्केरी आमालाई मासु, घ्यू र तात्तो झोल र मिठो मसिनो खुवाउने चलन रहेको बताउँछन् । ११ दिनमा घरलाई गोबरले लिपपोत गर्दै सुत्केरीलाई गहुँत खुवाएर चोखाउने चलन जीवित रहेको उनले बताए । न्वारानका विहान पण्डितकहाँ कुटुम्ब (छोरीज्वाइँ, बहिनीज्वाइँ लगायत)ले गहुँत मन्त्राएर वा फुकेर ल्याएपछि उक्त गहुँत सुत्केरी र उनका श्रीमानलाई खुवाउने चलन हुने रहेछ । ती कुटुम्बहरुले बच्चाका आमाबाबाका हातमा पँहेलो डोरी र बच्चाका हातखुट्टामा पहँलै डोरी बाँधिदिने चलन आज पनि कायम रहेको सुनाए । सन्तानको नाम भने घरका जेठाबाठा वा पण्डितले राख्ने चलन रहेछ ।
अचेल उनको गाउँमा छैंटी गर्ने चलन हराएको सुनाए । तैपनि सो संस्कार बारेमा उनलाई धेरै कुरा याद रहेछ । विशेषगरी छोरा जन्मिएको छैटौं रातमा गाउँलेहरुको उपस्थितिमा नाँचगान गर्ने चलन र सुत्केरीलाई बधाई एवम् सन्तानको बाउलाई अबीर घसिदिने चलन हुँदोरहेछ । रमाइलो गर्ने, खानपिन गर्ने र बधाईज्ञापन गर्ने चलन नै छैंटी रहेछ ।
छोरी ५ महिना र छोरा ६ महिना पुगेपछि मगरजातिमा भातखुवाई वा पास्नी गर्ने चलन रहेछ । आफन्ती, इष्टमित्र र छिमेकीहरुलाई बोलाएर भातखुवाई गर्ने चलनमा अचेल भद्दा संस्कृति थपिएको उनको तर्क छ । गाना, बजाना र खाइपिइले यो चलन महँगो र भद्दा हुँदै गएको उनको चिन्ता छ । खास गरी बच्चाहरुलाई दूधको मात्रा नपुगेर खानाको थप आवश्यकता पर्न थालेपछि नै भाइखुवाइँ गर्नुपर्ने भएको उनको तर्क जायज छ । अन्न, भात, खाना खुवाएर मुख जुठो गराउने परम्परागत चलन नै भातखुवाई रहेको उनको भनाइ छ ।
मगरजातिमा छोराको छेवर गर्ने चलनमा यतिबेला छोरीलाई गुन्यूचोलो दिने चलन पनि थपिएको पूर्णबहादुरको भनाइ छ । छोरीको उमेर पाँच वर्ष पुगेपछि घरका परिवारले छोरीलाई गुन्यूचोलो दिने चलन आएको नयाँ संस्कारलाई मगरजातिमा उत्तम मानिएको रहेछ । अर्थात् समानताको प्रतीक मानिदोरहेछ । छोरालाई पूरै ६ वर्ष पुगेपछि मामाले कपाल काटेर छेवर गरिदिने चलन रहेछ । बच्चाले जन्मिदेखि छेवर नगरुञ्जेल कपाल काट्ने चलन नहुँदोरहेछ । यतिबेला मामापट्टिकाले कपाल काटिदिने, शिरदेखि पाउसम्मका पोसाक ल्याएर लगाइदिने चलन हुँदोरहेछ । नसक्ने मामाहरुले कपाल काटेर भाञ्जालाई टोपीमात्र लगाइदिए पनि यो संस्कारबाट दीक्षित हुन सकिने खाम्चा मगरले सुनाए । छेवरमा ईष्टमित्र वा छरछिमेकलाई बोलाएर भोज खुवाउने चलन कायमै रहेछ । यो चलनलाई कर्म चलेको संस्कारका रुपमा लिने प्रचलन रहेको उनले उल्लेख गरे ।
मगरजातिमा मागी र भागी विहेलाई उस्तै प्राथमिकता दिने संस्कृति रहेछ । तरपनि भागी विहेलाई पौरखी विहेका रुपमा लिने चलन पनि रहेछ । खास गरेर मगरजातिमा मामाकी छोरीलाई साली भन्ने चलन हुन्छ । सालीलाई भगाएर ल्याएमा पुरुषार्थ ठानिदोरहेछ । हुन त कहिकतै जारीविहे, भाउजु स्याहार्नुपर्ने अवस्थाका विहे नभएका पनि होइनन् । तैपनि मगर संस्कृतिमा मामाकी छोरीलाई विहेका निम्ति पहिलो प्राथमिकतामा राखिन्छ । गुरुङजातिमा जस्तो फुपूकी छोरी रोजीरोजी, मामाकी छोरी खोजीखोजी भन्ने चलन भने मगरजातिमा नरहेको उनले बताए ।
मगरजातिमा भगाएर विहे गरेपछि ढोगभेट गर्ने चलन छ । केटीलाई भगाएर ल्याएको तेस्रो दिनमा केटापक्षले ठेकी लिएर केटीपक्षकहाँ ढोगभेटको सोधनी गर्न जानुपर्ने पारम्परिक संस्कार रहेछ । त्यसो हुँदा केटीपक्षले आफ्नी छोरी कहाँ कसरी, कहिले पुगेको सूचना प्राप्त गर्ने रहेछन् । साथै केटापक्षले कहिले ढोगभेट गर्ने, कतिका दरले रक्सी, सेल, मासु, बारा(बटुक) ल्याउने, कति जन्ति ल्याउने भन्ने कुराका बारेमा समेत ठेगान लगाउने (मिति तय गर्ने ) चलन पुरानै रहेछ । केटा र केटी पक्षका आर्थिक हैसियत, सामाजिक परिवेश र समय सुहाउँदो दररेट कायम गर्ने गरी सहमतिमा ढोगभेट टुंगो लाग्दोरहेछ ।
विहेमा गच्छे अनुसारको विहे भोजको आयोजना हुँदोरहेछ । आफन्ती, इष्टमित्र र छरछिमेकीलाई बोलाएर भोज खुवाउने चलनमा सम्भव भएमा बाजा समेत थपिदोरहेछ । विहे पटकपटक नगरिने र एकैपटक गरिने चलन भएकाले कसैकसैले त भव्य भोज खुवाउने चलन भएको ७६ वर्षीय खाम्चा मगरले सुनाए । कोहीकोहीले त विहेमा दारुपानीले मुख धुन समेत भ्याउने गरेको हाँसो गर्दै सुनाए ।
जन्मदेखि मृत्युसम्मको संस्कार आआफ्ना जातिमा आ–आफ्नै चलन छन् । मगरजातिमा मृत्युहँुदा १३ दिन नै किरिया बस्ने चलनमा यतिबेला परिवर्तन आएको कुरा पूर्णबहादुरले बताए । अचेल उनका गाउँमा मगरहरुले सात दिनमै किरिया उम्काउन थालेको सुनाए । उनले हाँस्दै भनेका थिए–मेरा छोराबुहारीले पनि अब म मर्दा सातै दिन त गर्लान् किरिया ? यसमा उनको मिश्रित प्रतिक्रिया थियो । किरिया गर्दा १० दिनमा फोर्ने ढिकुरो,सात दिनमा किरियाबाट उम्किदा कति दिनमा फोर्ने हो ? उनको जिज्ञासा मतिर पो तेर्सिएको थियो ।
यतिबेला किरिया संस्कारलाई प्रगतिशील तरिकाले व्यवस्थापन गर्नुपर्छ भन्ने धेरैको तर्क छ । तर यो संस्कारलाई व्यवस्थापन गर्न थोरै जातिमात्र तयार रहेकामध्ये मगरानति देखिएका छन् । किरिया गर्दा सेता कोरा भिर्नुपर्ने, खाली खुट्टा बस्नुपर्ने वा हिड्नु पर्ने, परालमा बस्नुपर्ने, खानामा पनि कडा अनुशासन कायम गर्नुपर्ने कुराले किरियापुत्रीहरुमा देखिने स्वास्थ्य समस्या जटिल बन्दै गएको छ । त्यसैले किरियाजस्तो अनुत्पादक कामलाई छिटोछरितो व्यवस्थापन गरी छिटै उत्पादक काममा फर्किनुपर्नेमा सबैको राय, सुझाव मननीय छन् तर बिरालोको घाँटीमा कसले घण्टी बाँध्ने भन्ने मुख्य कुरा कायमै छ ।
मृत्यु अवस्यमभावी छ । मृत्यु अप्रिय कुरा हुन् । तैपनि आफन्तीका मृत्युले घर परिवारलाई पक्कै पनि दुखी बनाएको हुन्छ । चिन्ति तुल्याएको हुन्छ । तैपनि मृत्युको पीडावोध गर्दै शोकलाई शक्तिमा रुपान्तरण गर्नुको विकल्प हुँदैन । मगरजातिमा जन्मदेखि मृत्युसम्म भेटिने अनेक संस्कार छन् । ठाउँ,परिवेश अनुसार फरक हुनुलाई अन्यथा लिन सकिदैन ।
मगरजातिले आफ्ना शुभकर्महरुमा रमाइलो गर्ने खालका अनेक सांस्कृतिक कार्यक्रमलाई औल्याएका पाइन्छन् । झ्याउँरे,ठूलोनाँच,जालै जो,टप्पा,सोरठीले मगरजाति संस्कृतिमा धनी जाति हुन् भन्ने कुराको सन्देश दिन सकिन्छ । ती सांस्कृतिक कार्यक्रममा पहिरिने पोसाक र बजाइने बाजागाजाको कलात्मक प्रयोगले समेत मगरजातिलाई सांस्कृतिक रुपमा धनी बनाएको पाइन्छ ।
निचोड :
- मगर जातिमा रहेको एकतालाई जीवित राख्न सकिएमामात्र पनि नेपाली समाजमा दूरगामी प्रभाव पर्न सक्छ ।
- आदिवासी जनजातिको खम्बाको रुपमा रहेको मगर जातिको वर्तमान उन्नति र प्रगति लोभ लाग्दो देखिन्छ । यसलाई थप उचाइँमा पुराउन निरन्तर गतिशील हुनुपर्ने देखिन्छ ।
- मगर जातिमा रहेको (गर्भावस्थादेखि मृत्युसम्मको) संस्कार,संस्कृतिको खोज,अध्ययन र अनुसन्धान गहन हुनुपर्ने देखिन्छ ।
- बहादुर र बीरमात्र होइनन् मगरजाति,बुद्धिमान र विवेकशील छन् भन्ने कुरालाई सबैका माझ प्रस्तुत गर्न मगरहरु शैक्षिक एवम् प्राज्ञिक कर्ममा समेत निरन्तर क्रियाशील हुनुपर्ने देखिन्छ ।
- मगर जातिमा रहेका बहुसांस्कृतिक र बहुधार्मिक एकतालाई एउटै डोरोमा अविछिन्न रुपमा बाँधिरहने तन्तुलाई जोगाइ राख्न सकिएमा भविष्यमा मगरजाति नेपालको सन्दर्भमा सर्वोकृष्ट जातिको रुपमा स्थापित हुन सक्ने देखिन्छ ।
सन्दर्भ सामग्री :
प्रारम्भिक भेटघाट र कुराकानी ः पाल्पा तिनाउ वडा नं. ५ मरामकोटका ७६ वर्षीय पूर्णबहादुर खाम्चा मगर । उनी साविक मस्याम गाविसका गाविसअध्यक्ष समेत हुन् ।
पूर्वीपाल्पाको पूर्वखोला गाउँपालिका वडा नं. २, जल्पा, ढोलीमाराकी माया राना, मगरसँग महिनावारीका विषयमा प्रत्यक्ष भेटघाट गरि गरिएको कुराकानी ।
हाम्रो गोरेटा,े राष्ट्रिय मासिक पत्रिका ( वर्ष : ८, अंक : ७, असोज, २०७८ मा उमेश राना ‘गोर्खाली’ द्वारा लिखित लेख : राष्ट्रिय जनगणना २०७८ र मगर समुदाय )
हाम्रो गोरेटो राष्ट्रिय मासिक पत्रिका ( वर्ष : ९,अंक : ५, असोज, २०७९ मा रामबहादुर थापा मगरद्वारा लिखित लेख : स्थानीय सरकार र आदिवासी जनजातिका सवाल । )
मगर जातिसम्बन्धी लेखिएका विभिन्न लेखहरु ।
पाल्पा,तिनाउ गाउँपालिका वडा नं. ४ सत्यवती क्षेत्रमा रहेको सत्यवती मन्दिर तथा ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहा मगर र उनकी दिदी दिलकुमारी सुनारी मगरसँग २०८१ पौष १० गते मंगलवार दिउँसो गरिएको टेलीफोन वार्ता ।
प्रतिक्रिया