काठमाडौँ । काठमाडौँमा जारी नेपाल–भारत रङ्ग महोत्सवअन्तर्गत राष्ट्रिय नाचघरमा आज नयनराज पाण्डेको लेखन र दिया मास्केको निर्देशन रहेको नाटक ‘कथा कस्तुरी’ प्रदर्शन गरिएको छ । उक्त नाटकमा नेपालको पश्चिम तराईमा भेटिने सपेरा जातिको जनजीवनलाई प्रस्तुत गरिएको छ । आख्यानकार नयनराज पाण्डेको ‘सर्पदंश’ को नाट्य रूपान्तरण गरिएको कथा कस्तुरी तराईमा रहने सपेरा जातिको जीवन सङ्घर्षमा आधारित रहेको छ ।
महोत्सवको पहिलो दिन सिके लालको लेखन तथा सुनिल पोखरेलको निर्देशन रहेको नाटक ‘गच्छामी’ प्रदर्शन गरिएको थियो । यही ३० गतेसम्म चल्ने महोत्सवमा ६ वटा नाटक प्रदर्शन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन ।
जमलस्थित राष्ट्रिय नाचघरको प्रेक्षालयमा प्रदर्शन हुने नाटकमध्ये ३ वटा नेपालका र ३ वटा भारतका प्रदर्शन हुने कुलपति शर्माले जानकारी दिरए। उनका अनुसार २ वटा नाटक प्रदर्शन भएको र अब ४ वटा नाटक प्रदर्शन गर्न बाँकी छ ।
भारतको राजधानी नयाँ दिल्लीमा महोत्सव यही माघ १५ गते नै शुरू भइसकेको र भारतका ११ शहरमा महोत्सव अहिले जारी छ । काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सुरू भएको महोत्सव संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गगरेका हुन । भारत र नेपालको सहकार्यमा यसरी सँगसँगै आयोजना गरिएको रङ्ग महोत्सव यहाँ पहिलो भएको बताइएको छ ।
महोत्सवअन्तर्गत यही माघ २७ गते संयोग गुरागाईंको लेखन तथा नम्रता केसीको निर्देशन रहेको नाटक ‘जुन परीकथा मात्र होइन’ प्रदर्शन हुनेछभने महोत्सवअन्तर्गत माघ २८ गते विजयदन देथाको लेखन तथा अजय कुमारको निर्देशन रहेको भारतीय नाटक ‘माई री मैं का से कहूँ’, माघ २९ गते मिथिलेश्वरको लेखन तथा राजेश सिंहको निर्देशन रहेको भारतीय नाटक ‘बाबुजी’ प्रदर्शन हुनेछ । माघ ३० गते अजय शुक्लको लेखन र चित्तरञ्जन त्रिपाठीको निर्देशन रहेको भारतीय नाटक ‘ताजमहल का टेन्डर’ प्रदर्शन हुने जनाइएको छ ।
कुलपति शर्माले महोत्सवमा सहभागी हुने नेपाल भारतका चर्चित नाटक केवल प्रस्तुति मात्र नभएर एकअर्काका परम्परा, मूल्य, मान्यता, संस्कृति र कथाहरूको साझा सम्वाद हुने र छिमेकी मुलुकसँगको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरीन । यहाँ प्रदर्शन भएको नाटकहरूमध्ये ‘गच्छामी’ र ‘कथा कस्तुरी’ नयाँ दिल्लीमा प्रदर्शन हुने छ भने ‘जुन परीकथा मात्र होइन’ भारतको गोरखपुरमा प्रदर्शन भएपछि काठमाडौँमा प्रदर्शन हुनेछ ।
–––
प्रतिक्रिया