काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएर सुधारतर्फ अग्रसर भइरहेको बताएका छन् ।
चालु आर्थिक बर्षको बजेटको अर्धबार्षिक मूल्याङकन प्रतिवेदनबारे जानकारी दिन अर्थ मन्त्रालयमा आज साँझ आयोजित पत्रकार भेटघाटमा उनले सरकार काम गर्ने र नतिजा ल्याउने विषयमै केन्द्रित रहेको स्पष्ट पारे । अर्थमन्त्री पौडेलले भने, “वर्तमान सरकार गठनभएदेखि यहाँसम्म आइपुग्दा तथ्याङकलाई राम्रोसँग विश्लेषण गरेर हेर्ने हो भने अर्थतन्त्र ओरालो लाग्ने क्रमलाई रोकेर क्रमशः सुधारतर्फ अग्रसर छ । सवै परिसूचकले यही बताइरहेका छन् । कार्य क्षमताका आधारमा यो सरकार सक्षम छ ।”
सुरु गरिएका सुधारका अभ्यासलाई तीव्रता दिने तथा छिटो परिणाम हासिल गर्नेतर्फ सरकार उन्मुख रहेको बताउँदै उनले भने, “सरकारले राम्रो काम गरेको छ, राम्रो गर्दै जान्छ, जति राम्रा काम भएका छन् त्यसप्रति गर्व छ, अझ राम्रो गर्ने सङकल्प छ ।” समग्र आर्थिकका साथै राजस्व वृद्धिमा प्रगति भएको उनको भनाइ छ ।
वार्षिक लक्ष्यको तुलनामा ९१ प्रतिशत प्रगति हासिल गर्ने अर्थमन्त्री पौडेलले दाबी गरेका छन् । बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनका लागि सबै सरकारी कार्यालय, नियामक निकाय र सार्वजनिक संस्थानमा नयाँ संगठन संरचना र दरबन्दी सिर्जना नगर्ने उल्लेख गरिएको छ । यसका साथै खर्चको मापदण्ड बनाई चालु खर्चमा मितव्ययिता कायम गर्ने जनाइएको छ । स्रोतमा परेको चापलाई दृष्टिगत गरी अनिवार्य दायित्व बाहेक चालु खर्चतर्फ विनियोजित नेपाल सरकारको स्रोततर्फको रकममध्ये हालसम्म खर्च भई बाँकी रहेको रकमको २५ प्रतिशत रोक्का राख्ने जनाइएको छ ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार १ खर्ब ६७ अर्बले घटाएका छन् । बिहीबार प्रतिनिधिसभामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा पेस गर्दै बजेटको आकार १ खर्ब ६७ अर्बले घटाएका हुन् । चालु आर्थिक वर्षको १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेटलाई घटाएर १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाखमा झारिएको छ । जुन विनियोजित बजेटको १ खर्ब ६७ अर्ब ५६ करोड ९५ लाख रूपैयाँ कम हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा शिवराज अधिकारीले सरकारले चालेका सुधारका कार्यक्रमको केही समयपछि नतिजा देखिने बताए । अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आर्थिक क्रियाकलापलाई चलायमान बनाउँदै पुँजीगत खर्च बढाउने र अर्थतन्त्र ठिक बाटोमा लैजाने काम भइरहेको बताए ।
प्रतिक्रिया