काठमाडौँ । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘परिवर्तनको जन्म भएरै छाड्ने र त्यसकाे चितवनले सङ्केत गरेको बताएका छन । सहकारी ठगी प्रकरणामा मुछिएका लामीछाने चितवन जिल्ला अदालतबाट चौथो मुद्दामा पनि धरौटीमा रिहा भए लगत्तै उनले साे कुरा बताएका हुन । बिहिबार मात्रै उनी चितवन जिल्ला अदालतबाट पनि धरौटीमा रिहा भएका हुन। उनलाई लगातार चार जिल्ला अदालतहरूले धरौटीमा रिहा गर्ने आदेश गरेका हुन् ।
चितवन जिल्ला अदालतले लामिछानेलाई बिहिबार ५४ लाख धरौटीमा रिहा गरेको हो । सुरुमा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो , त्यसपछि काठमाडौँ जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, हुँदै आज चितवन जिल्ला अदालतबाट समेत धरौटी माग भएको हो । अनुसन्धान भइरहेका स्थानमध्ये उनी विरुद्ध पर्सा जिल्लामा मुद्दा बाँकी नै रहेको छ।
पर्साको सानोपाइला सहकारीको ठगीमा उनी विरुद्ध अनुसन्धान चलिरहेको छ। चार वटा जिल्ला अदालतमा गरी अहिलेसम्म उनी विरुद्ध २ करोड ७९ लाख रुपैयाँ धरौटी माग भएको छ। रिहा हुँदा उनले धरौटी बापतको रकम बैङ्क ग्यारेन्टी पेस गर्दै आएका छन् ।
लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख, काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ , रुपन्देही जिल्ला अदालतले १ करोड र चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटी माग गरेको हो । सबै अदालतले मागेको धरौटी बापतको रकम उनले बैङ्क ग्यारेन्टी मार्फत बुझाएर रिहा भएका हुन् ।
चितवन जिल्ला अदालत परिसरमा लामिछाने समर्थकहरू उनलाई छुटाउन भन्दै लालपुर्जा र चेक बोकेर समेत पुगेका थिए। धरौटीमा छुटेपछि लामिछानेले चितवनवासीले दुई–दुई पटक निर्वाचित गरेकोमा जालझेलपूर्वक आफ्नो सांसद पद निलम्बन गरिएको बताए।
चितवनले परिवर्तनको सङ्केत गरिसकेको र त्यो नरोकिने उनको भनाइ रहेको थियो । उनले भने, ‘परिवर्तनको जन्म भएरै छाड्छ, चितवनले त्यसको सङ्केत गरेको छ, व्यक्ति को हुन्छ, त्यसमा मलाई सरोकार छैन, तर चितवनले सुरु गरेको परिवर्तनको सपना, देखेको सपना चाँडै पूरा हुन्छ।’
स्वर्णलक्ष्मी सहकारी, काठमाडाैँः
लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारीका साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड सङ्गठित रूपमा ठगी गरेको अभियोगमा पुस २१ मा मुद्दा दायर भएको थियो । स्वर्णलक्ष्मी सहकारी संस्थाको बैङ्किङ सफ्टवेयर प्रणालीमा आफ्नो नाम देखिएको सन्दर्भमा लामिछानेले के कसरी त्यो भयो भन्ने जानकारी नभएको तर सहकारीमा आफू ऋणी पनि नरहेको जिकिर गरेका थिए । तर लामिछानेको नाममा गाडी खरिदका लागि समेत सहकारीबाट पैसा लगेको दाबी अभियोग पत्रमा गरिएको थियो ।
गोरखा मिडियाको सञ्चालकको रूपमा उनले चेकमा हस्ताक्षर समेत गरेका थिए । आफूले चेक काटेकोबारे उनले कार्य बोझले गर्दा बैङ्क व्यवस्थापनमा बाधा नहोस् भनी खाली चेकमा हस्ताक्षर गरी छाड्ने काम गरेको अदालतमा बयान दिएका थिए । जिल्ला अदालतले लामिछानेलाई माघ २ गते ६० लाख धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले यस्तो आदेश गरेको थियो ।
सुप्रिम सहकारी, रुपन्देही
काठमाडौँ पछि लामिछाने विरुद्ध रुपन्देहीमा अभियोग पत्र दायर भएको थियो । सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रुपन्देही जिल्ला अदालतमा पूरक अभियोग पत्र दायर भएको थियो । सुप्रिम सहकारीको रकम अपचलनमा माघ ६ गते लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोग पत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो माग दाबी गरिएको थियो ।
लामिछानेमाथि व्यक्तिगत २ करोड पनि बिगो दाबी गरिएको थियो । २०८० वैशाख ३ मा सुप्रिमको बचत अपचलनमा २८ जनाविरुद्ध ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ बिगो कायम गरी सहकारी ठगीमा मात्र मुद्दा दायर गरिएको थियो । त्यति बेला लामिछाने गृहमन्त्री थिए । गृहमन्त्री भएकै कारण उनी विरुद्ध प्रहरीले ‘अनुसन्धान नगरी उन्मुक्ति दिएको’ थियो ।
उक्त मुद्दामा माघ १३ गते थुनछेक आदेश गर्दै अदालतले लामिछानेसँग १ करोड धरौटी माग गर्यो । जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश गरेका थिए ।
सहारा सहकारी, चितवन
चितवनको सहारा सहकारीको रकम अपचलन गरेको आरोपमा माघ २२ गते लामिछानेसहित १५ जना विरुद्ध मुद्दा दायर गरेको थियो । बचतकर्ताको ३८ करोड ९ लाख ७९ हजार १७७ रुपैयाँ भराउन मागवादी लिँदै मुद्दा दर्ता भएको थियो । अनुसन्धानबाट गोरखा मिडियासहितका कम्पनीहरूमा ४३ करोड १४ लाख ९९ हजार ९२८ रुपैयाँ अपचलन भएको देखिएको थियो । यो मुद्दामा पनि रविसँग धरौटी माग भएको हो ।
प्रतिक्रिया