ताजा अपडेट »

मेलामार्फत लोक संस्कृति संरक्षण गरिँदै

विहीबार, २४ माघ २०८१, १३ : १३
10 Shares
विहीबार, २४ माघ २०८१
10 Shares

रामपुर । कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको हो ।

व्यक्तिभित्र लुकेर रहेका कला, संस्कृतिलाई उजार गर्न रामपुर मेलाले एउटा अवसर सिर्जना गरेको स्थानीय बताउँछन् । यही माघ १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने ‘चौँथो रामपुर महोत्सव तथा व्यापार मेला’मा लोकदोहोरी प्रतियोगितामार्फत लुकेर रहेका प्रतिभालाई अवसर प्रदान गरिएको हो । 

लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । दोहोरीको अन्तिम प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेलले उपाधि जित्दै नगद रु ५१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ । 

नमस्ते होटलको तर्फबाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतियोगितामा सहभागी भई प्रतिस्पर्धामार्फत उपाधि हात पार्नुभएको दोहोरी गीत प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिए । 
    
उपविजेता समूह बनेको राष्ट्रिय लोक तथा गीत प्रतिष्ठानले नगद रु ३१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ । यस समूहमा सुमन थापा र सीमा सारुले प्रतिनिधित्व गरेकी थिइन् । 

पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अङ्क प्राप्त गर्दै तृतीय स्थान ओगट्दै प्रतिसमूह नगद रु २१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन् । पृथ्वी टेलिभिजनको तर्फबाट तोयानाथ विक र विपना खनाल तथा श्रीनगर होटलबाट विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गरेका थिए । प्रतियोगितामा आठ समूहको सहभागिता थियो । 

राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान स्याङ्जाका सुदिप सापकोटा उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेल उत्कृष्ट गायिका घोषित भएकी छन् । लोकदोहोरीका नयाँ प्रतिभाहरूको खोजी, प्रतिभा प्रस्फुटन र मौलिकताको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवर्द्धन गर्न प्रतियोगितात्मक कार्याक्रम आयोजना गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । “आधुनिकतासँगै युवा पुस्तामा लोकदोहोरीको महत्व घट्दै जाँदा यसको मौलिकता हराउँदै जान थालेकाले संरक्षण र प्रवर्द्धन गर्न यहाँ प्रतियोगिताको आयोजना गरिएको हो । यस कार्यक्रमबाट कला, संस्कृतिमा रुचि भएका नवकलाकार उत्पादन हुनुभएको छ”, उनले भने ।

यस्ता प्रतियोगितात्मक कार्यक्रमले लोकदोहोरी गीतको परम्परागत मौलिक संस्कृतिको जगेर्ना गरी नयाँ प्रतिभा उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष ढकालले विश्वास व्यक्त गरे । आधुनिकतासँगै लोकदोहोरीको मौलिक भाका लोप हुन थालेकाले मौलिकता जोगाउन र युवा पुस्तालाई आकर्षित गर्न मेला, महोत्सवले सहयोग पुर्‍याउने उनको भनाइ छ । 

आमनेसामने भएर दोहोरी गाउने चलन छ । यसमा माया, प्रेम, हाँसो, रोदन, मिलन, विछोड जस्ता विषय समेटेर दोहोरीमा गाउने गरिन्छ । गाउँघरमा हुने दोहोरी प्रतियोगिताबाट धेरै नयाँ कलाकार जन्मेका छन् । ठट्यौली पारामा गाउने दोहोरीले धेरैको मन तानिरहेको हुन्छ । लोक संस्कृतिले मानव जीवनको गाथा, व्यथालाई बोलिरहेको हुन्छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।