बुटवल । थकाली युवा परिवारको दोश्रो भेला तथा राष्ट्रिय महाधिवेशन बुधबारदेखि बुटवलमा सुरु भएको छ । ‘धर्म, संस्कृति हाम्रो परमपरा, संरक्षण सम्बर्द्धन युवाहारुको अभिभारा’ भन्ने नाराका साथ महाधिवेशन आयोजना गरिएको छ ।
महाधिवेशनको शुभारम्भ गर्दै प्रतिनीधि सभाका सदस्य योगेश गौचन थकाली समुदाय सांस्कृति, सामाजिक, आर्थिक तथा भाषिक रुपमा उन्नत जाती भएपनि जनसंख्या र शैक्षिक तथा राजनैतिक रुपमा निकै कमजोर भएको उल्लेख गरे । गौचनले अग्रजहरुसँग भएका कला, संस्कृति, परमपरा र भाषा साहित्यलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । पुस्तान्तरण हुन नसके परम्परा र ईतिहास समाप्त हुने खतरा रहेको उल्लेख गरे । अग्रजहरुको अनुभवलाई नयाँ उर्जा र उत्साहको रुपमा ग्रहण गर्न थकाली युवाहरुलाई आग्रह गरे । उनले थकाली समुदायको जनसंख्या कम भएपनी नेपालको अर्थराजनितिमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको दावी गरे।
कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य बिकल शेरचनले थकाली युवा परिवार समुदायको मौलिकता, भाषा, परम्परा र सँस्कृतिको संरक्षण तथा सभ्यताहरु पुस्तान्तरणका लागि जन्मिएको संस्था भएकोले सोही अनुसार कार्य योजना बनाएर लाग्नु पर्ने बताए। शेरचनले थकाली जातीको जनसंख्या घट्दै आइरहेकोमा चिन्त व्यक्त गर्दै अवका पुस्ताबाट अन्तरजातीय बैवाहिक सम्बन्धलाई निरुत्साहित गर्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । थकाली युवा परिवार केन्द्रका सचिव समेत रहेका सभासद शेरचनले अन्तरजातीय बिवाह संस्कारले आफ्नो भाषा, संस्कृति र परमपरा लोप भएको जनाए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले थकाली युवाहरुको राष्ट्रिय महाधिवेशनले बुटवलको गरिमा र पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याएको बताए । बुटवललाई मुस्ताङ्ग, कोरला नाका र शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्तल लुम्बिनीलाई जोड्ने माध्यमको रुपमा बिकास गर्ने योजना समेत सुनाए ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा कामना सेवा बिकास बैंकका अध्यक्ष भिमप्रसाद तुलाचन, आदीवासी जनजाती महासंघ, समन्वय परिषद रुपन्देहीका सल्लाहकार शंकर गाहा, नेपाल मगर युवा संघका केन्द्रिय महासिचव रोशन अस्लामी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यष दिनेश पाण्डेय, साहित्यकार मनिषा गौचन लगायतले शुभकामना व्यक्त गरे । उनीहरुले आदीवासी जनजातीहरुको पहुँच स्थापित गर्न नयाँ पुस्तामा शैक्षिक, सामाजिक, सांस्कृतिक र राजनैतकि रुपमा सचेत गराउनु पर्नेमा जोड दिए । थकाली युवा परिवार केन्द्रका अध्यक्ष योगेन्द्र शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ती गौचन र साहित्यकार तथा आख्यानकार मनिषा गौचनलाई सम्मन गरिएको थियो।
महाधिवेशनले अध्यक्ष, दुई जना उपाध्यक्ष, सचिव, २ जना सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदाधिकारी रहनेगरी १९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा पोखरा, काठमाडौं, बुटवल, भैरहवा लगायतका १९ क्षेत्र र बिदेशमा ३ क्षेत्र गरी २२ क्षेत्रबाट करिब ७५ जना भन्दा बढी प्रतिनीधि तथा प्रयवेक्षकको सहभागिता रहेको छ।
प्रतिक्रिया