तनहुँ । जिल्लाको शुक्लागण्डकी–५ दुलेगौँडास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा प्रवाहका लागि भौतिक संरचना निर्माण सुरु गरिएको छ ।
मिर्गौलासम्बन्धी समस्या भएका बिरामीलाई आगामी चैत ७ गते जीपी स्मृति दिवसका दिनदेखि सेवा दिने उद्देश्यसहित भौतिक संरचना निर्माण सुरु गरिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले रु ४० लाख लागतमा डायलासिस भवन निर्माण भइरहेको जानकारी दिए । “डायलासिस गर्न आवश्यक पर्ने शय्या र केही उपकरण अस्पतालमा रहेकाले अन्य छ वटा उपकरण स्वास्थ्य सेवा विभागबाट माग गरिएको छ, उनले भने, “विपन्न नागरिक उपचार कार्यक्रम सूचिकृतका लागि प्रक्रिया अघि बढाइएको छ ।”
डायलासिसका लागि प्रतिव्यक्ति रु दुई हजार पाँच लाग्ने शुल्कमा निःशुल्क गर्न नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा स्वास्थ्य सेवा विभागमा सूचीकृत गर्न पठाइएको निर्देशक डा. श्रेष्ठले बताए । उनका अनुसार माग गरिएका छ वटा उपकरणमध्ये एउटा इमर्जेन्सी सेवाका लागि राखिने छ भने पाँच वटा दैनिक सेवामा प्रयोग गरिनेछ । उनले भने, “यसले हप्तामा तीस जना बिरामीलाई सेवा प्रवाह गर्न सकिनेछ ।”
डायलासिस सेवाका लागि संरचना निर्माणमा लायन्स क्लब र शुक्लागण्डकी नगरपालिकाले सहयोग रहेको केन्द्रले जनाएको छ । सेवा सञ्चालन गर्न तीन नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखिएको अस्पतालका प्रशासन शाखा प्रमुख प्रदीप पौडेलले बताए । स्वास्थ्य बिमाबाट पनि उपचार सेवाप्राप्त गर्नसक्ने भएपछि बिरामीको घुइँचो बढेको भन्दै उनले दैनिक तीन सयबढी बिरामीले सेवा लिइरहेका जानकारी दिए ।
पौडेलका अनुसार यतिबेला रुघाखोकी, ज्वरोलगायत मौसमी सङ्क्रमण भएका बिरामीको घुइँचो बढी छ । केन्द्रले श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवासहित हाडजोर्नी तथा नशारोग, स्त्रीरोग, बालरोग, नाक, कान घाँटी तथा सामान्य शल्यक्रियासम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा तनहुँसहित स्याङ्जा, पाल्पा, नवलपरासी, कास्की, लमजुङलगायत जिल्लाबाट सेवाग्राही उपचारका लागि आउने गरेका छन् ।
प्रतिक्रिया