थकाली युवा परिवारको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबारदेखि बुटवलमा अयोजना हुँदै छ । अधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरु बुटवल आउने क्रम जारी छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनका कार्यक्रम अन्तरगत बुटवलको द फ्लामिङ्गो होटलमा पहिलो दिनका कार्यक्रम सञ्चालन हुने छन् भने दोस्रो दिनको कार्यक्रम बुटवलकै थकाली सेवा समाजको सभाहलमा हुने छ । ग्लोबल आवाजका लागि डि.बी. सुस्लिङले थकाली युवा परिवारको महाधिवेशनको सन्दर्भमा केन्द्रीय अध्यक्ष योगेन्द्र शेरचनसँग गरिएको कुराकानी ?
महाधिवेशनका कार्यक्रम के-कसरी सञ्चालन गर्दै हुनुहुन्छ ?
थकाली समुदयाको उत्थानका र जातीय पहिचानका लागि संगठित भएको थकाली युवा परिवारले बुटवलमा आयोजना गर्न लागेको दोस्रो महाधिवेशनलाई ऐतिहासिक बनाउने प्रयासमा हामी छौं । अधिवेशनका लागि देशका विभिन्न १९ वटा सेक्टरबाट प्रतिनिधिहरु बुटवल आउने क्रम जारी छ । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा पहिलो दिन प्रशिक्षण तथा अभिमूखिकरणको सेशन सञ्चालन गर्दै छौं । यसैगरी दोस्रो दिन पनि अभिमुखीकरणसहित बन्दसत्र र निर्वाचन प्रक्रियामा गएर नयाँ नेतृत्व चयन गर्ने छौं भने लगत्तै भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनी दर्शन गरेर अधिवेशनका सम्पूर्ण कार्यक्रम समापन गर्ने कार्यतालिका बनाएका छौं ।
महाधिवेशनका लागि बुटवललाई नै किन रोज्नुभयो ?
बुटवल आफैमा ऐतिहासि शहर पनि हो भने बुटलसँग नजिकै रहेको भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीले हामीलाई आकर्षित गरेको हो । थकालीहरुको बसोबासको हिसाबले उद्गमस्थल मुस्ताङको थासाङबाट बसाई सरी आउनेहरु मध्ये बुटवल तेस्रो शहरको रुपमा रहेको छ । सबैभन्दा बढी बसाई सर्नेस्थल पोखरामा हामीले यसअघि नै प्रथम महाधिवेशन सम्पन्न गरिसकेका छौं । दोस्रो शहरको रुपमा काठमाडौं भए पनि यस पटक हामीले बुटवललाई नै रोज्यौं । । थकालीहरुको उद्गम स्थल मुस्ताङको थासाङमै महाविधेशन गर्ने कि भनेर नसोचेका पनि होइनौं । तर यतिवेलाको मौसम र चिसोले त्यो सम्भव नभएपछि बुटवल रोजाइमा परेको हो । यहाँको वातावरण, भगवान गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीसँग जोडिएको स्थल, यातायातको सहज पहुँच, खान बस्नका लागि सुविधासम्पन्न होटल तथा रेष्टुरेन्ट लगायत यहाँको समग्र वातावरणले नै बुटवल यस पटककको रोजाइमा पर्यो ।
अधिवेशन अन्तरगत हुने कार्यक्रम के–के छन् र त्यसमा सहभागिताको सङ्ख्या कति रहन्छ ?
यो महाधिवेशनमा देशभरका विभिन्न १९ वटा सेक्टरबाट ७० जना प्रतिनिधि तथा प्रवेक्षक सहभागी हुने कार्यक्रम रहेको छ भने यस बाहेक अतिथी तथा थकाली परिवारका अन्य सदस्यहरु पनि सहभागी हुने भएकाले करिब १५० जना उपस्थित हुने हामीले अनुमान गरेका छौं । यो अधिवेशनलाई नेतृत्व चयनमा मात्रै ध्यान केन्द्रित नगरी प्रशिक्षणमूलक बनाउने हाम्रो योजना अनुसार पहिलो दिन अर्थविद विश्वास गौचन र प्रभु बैंकका सिईओ अशोक गौचनले युवाहरुलाई आर्थिक आत्मनिर्भरतका बारेमा प्रशिक्षण गर्नुहुने छ भने नेपाली चलचित्र ‘केटी हराएको सूचना’का निर्देशक दिपेन्द्र गौचनले युवाहरुलाई उत्पेरणनात्मक अभिमुखीकरण गर्ने कार्यक्रम रहेको छ । यसैगरी आदिबासी जनजाती महासंघका पूर्व अध्यक्ष जगत बरानले आदिबासी जनजातीको अधिकार बारे संयुक्त राष्ट्रसंघीय घोषणा पत्रका बारेमा चर्चा गर्ने कार्यक्रम रहेको छ । यसैगरी अधिवेशनको पहिलो दिनको साँझमा थकाली पहिचान तथा परम्पराका साँस्कृतिक कार्यक्रम, भेषभुषा प्रदर्शन तथा परिकारहरु पस्किने छौं ।
यसैगरी दोस्रो दिनका सम्पूर्ण कार्यक्रम बुटवलको थकाली सेवा समाजको सभाहलमा आयोजना हुने छन् । उक्त दिन राष्ट्रिय थकाली अनुसन्धान केन्द्रका अध्यक्ष योगेन्द्रमान भट्टचन तथा थकाली समाजका वरिष्ठ उपाध्यक्ष प्राध्यापक शुसिला शेरचनले प्रशिक्षण गर्नुहुने छ । यसपछि हामी बन्दसत्रमा प्रवेश गर्नेछौं । बन्दसत्र समापनसँगै नयाँ नेतृत्व चयन हुने छ । नयाँ नेतृत्व चयनपछि लुम्बिनी भ्रमण गर्ने छौं र प्रतिनिधिहरु बुटवलबाट फर्किने छन् ।
वन्दसत्रमा तपाईको कार्यकालमा भएका गतिविधि बारे छलफल हुन्छ नै, त्यस अवधिमा तपाईले गरेका उल्लेखित कामहरु के–के छन् ?
पोखरा महाधिवेशनपछि पुनः मेरो नेतृत्वमै गठन भएको कार्यसमितिले थकाली युवा परिवारलाई निरन्तर क्रियाशिल बनाउन केही न केही क्रियाकलापहरुमा युवाहरुलाई सहभागी गराउँदै आएको छ । हाम्रो मूल संस्था थकाली समाजले सञ्चालन गरेका हरेक क्रियाकलापमा आर्थिक, भौतिक वा कुनैपनि किसिमका सहयोग र सहकार्यमा हामीले कमी हुन दिएका छैनौं ।
हामीले सायद नेपालमै पहिलो पटक मुस्ताङको थासाङमै रक्तदान कार्यक्रम आयोजना गरी ९४ युनिट रगत संकलन गरेका थियौं । यसैगरी म्याग्दीमा बाढी पीडित हुन पुग्नु भएका हाम्रा आदणीय अध्यक्षको गाउँमा राहतको कार्यक्रम, विभिन्न छलफल अन्तरक्रियाहरु निरन्तर नै भैरहेका छन् । यस अधिवेशनमा समेत हामीले राष्ट्रका लागि योगदान गरेका २ जना युवाहरुलाई सम्मान गर्दै छौं ।
नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचन र साहित्यकार मनिषा गौचनलाई नगद राशीसहित सम्मान गर्दै छौं । यससँगै पवित्र धार्मिकस्थल पुङयुङ ओढार (बाह्र वर्षे मेलामा ४ चनका पाँडेहरुले वंशावली वाचन गर्नेस्थल) पुनः निर्माणका लागि ५० हजार आर्थिक सहयोग हस्तान्तरण गर्दै छौं । यी सम्पूर्ण कामहरु मेरो एक्लो प्रयासले भन्दा पनि हाम्रो सम्पूर्ण थकाली परिवारको एकताले सम्भवन भएको हो भन्ने मलाई लाग्छ ।
महाधिवेशनमा नयाँ नेतृत्वत्का अपेक्षाहरु पनि बढी नै छन् होला, सहमति वा मतदाननै हुने अवस्था के छ ?
थकाली युवा परिवार सबैभन्दा पहिले हाम्रो मौलिकता, भाषा, परम्परा र सँस्कृतिको संरक्षण गर्नुकास साथै हाम्रा सभ्यताहरु पुस्तान्तरणका लागि जन्मिएको संस्था हो । यो एउटा परिवार हो भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । त्यस कारण अन्य संघ–संस्थामा जस्तो नेतृत्वका लागि आपसमा तानातान गर्ने चुनावमै जाने भन्ने हाम्रो परम्परा छैन, जे हुन्छ सहमतिमै हुन्छ । यसअघि हामीले पोखरामा आयोजना गरेको प्रथम महाधिवेशनमा पनि सबैले मलाई प्रस्ताव र सहमति गरेपछि म अध्यक्षमा दोहोरिएको थिए । यस पटक पनि जो कोही अध्यक्ष भए पनि सहमतिमै सौहार्दपूर्ण वातावरणमै नेतृत्व चयन हुने हो, हामीमा नेतृत्वका लागि मनमुटाव सिर्जना हुने भन्ने नै छैन ।
प्रतिक्रिया