बुटवल । बुटवलको सिद्देश्वर खेल मैदानमा मँगलबारदेखि सुरु भएको लखन कम नकआउट फुटवल प्रतियोगिता अन्तरगत आजको खेलमा सौभाग्य युवा क्लब र इभोलुसन क्लब अफ बुटवल भिड्दै छन् । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा प्रतियोगिता जारी रहेको छ ।
मंगलबार भएको उद्घाटन खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले चाँदनी युवा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । आयोजकको जितमा मिलन आले र प्रेम थापाले २–२ तथा समुन्द्र ज्ञवालीले थप एक गोल गरेका थिए । आयोजक टिमका मिलन आलेले खेलको २९ औ मिनेटमा गोल गर्दै खेलमा अग्रता दिलाए । यसैगरि प्रेम थापाले ३२ औ र ३७ औ मिनेटमा लगातार गोल थपे । दोस्रो हाफमा खेलको ४४ औ मिनेटमा मिलन आले र ७२ औ मिनेटमा समुन्द्र ज्ञवालीले गोल गर्दै अन्तरलाई बढायो । चादनीका विकास थापाले खेलको ६६ औ मिनेटमा सान्त्वना गोल गरे । खेलमा आयोजक टिमका मिलन आले म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १,५१,५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५,७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका सचिव निरन्जन पन्तले बताए । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १०, ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५,५५५ रुपैया, कपबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । फागुन ७ गतेसम्म चल्ने प्रतियोगितामा १६ टिमले भाग लिएका छन भने १५ लाख खर्च हुने अनुमान आयोजकको छ ।
प्रतिक्रिया