ताजा अपडेट »

बेथितिको चङगुलमा तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत डाँगी, बुझे एकै दिन ९७ हजारसम्म भत्ता

मंगलबार, २२ माघ २०८१, १९ : ५८
112 Shares
मंगलबार, २२ माघ २०८१
112 Shares

बुटवल । दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको दैनिक भत्ता तथा भ्रमण खर्च अस्वभाविक देखिएको छ । उपमहानगरपालिकाको लेखा समितिले दिएको जानकारी अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले एकै दिन ९७ हजार रुपैँयासम्म दैनिक भत्ता तथा भ्रमण खर्च लिएको देखिएको हो ।

यस्तै डाँगीले एकै दिन दुईवटा दैनिक भत्ता र भ्रमण खर्च लिएको प्रतिवेदनले औँल्याएको छ । भ्रमण खर्च नियमावली २०६४ अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले लिएको भत्ता र खर्च नियमावली विपरित रहेको छ । नियमावलीको बुँदा नम्बर १० मा उल्लेख भएको दैनिक भत्ता तथा भुक्तानी खर्चविधि अनुसार एक पटकमा हवाई वा बस भाडा खर्च र दैनिक भत्ता बढीमा २ हजार रुपैँयासम्म पाउने उल्लेख छ । बस भाडाको कुरा नगरौँ । हवाई भाडा नै लिएपनि दैनिक बढीमा २० हजार हो । अझ स्पष्टरुपमा सामान्यतया दाङ –काठ्माण्डौको हवाई भाडा बढीमा १२ हजारसम्म छ ।

तर प्रमुख प्रशासकिय अधिकृत डाँगीले २०८० चैत १९ गते एकैदिन भौचर नम्बर १८७१ बाट ९७ हजार लिएको लेखा समितिले जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत डाँगी तुलसीपुर उपमहानगरपालिकामा आएको १ वर्ष पनि पुगेको छैन् । लेखा समितिका अनुसार प्रशासकिय अधिकृत डाँगीले १० महिनाको अवधिमा दैनिक भत्ता तथा भ्रमण खर्चवाफत साढे ३ लाख बढी रकम लिएको देखिएको छ । प्रमुख प्रशासकिय अधिकृत डाँगीले अघिल्लो आर्थिक वर्षको चैतदेखि र चालु आर्थिक वर्षको पुस १८ गतेसम्म दैनिक भत्ता तथा भम्रण खर्चवाफत ३ लाख ६४ हजार ७११ रुपैँया लिएको लेखा समितिको प्रतिवेदनमा तथ्य सार्वजनिक भएको छ ।

यस्तै प्रशासकिय अधिकृत डाँगीले एकैदिन दुई वटा दैनिक भत्ता तथा भ्रमण खर्च लिएको प्रतिवेदनमा छ । प्रमुख प्रशासकिय अधिकृत डाँगीले २०८१ असोज १८ गते भौचर नम्बर ९५ बाट ३२ हजार २७० र भौचर नम्बर ९८ बाट ६० हजार ४९५ रुपैँया लिएको देखिएको छ । तुलसीपुर उपमहानगरपालिका लेखा समितिका संयोजक घनश्याम ढकालले प्रमुख प्रशासकिय अधिकृत डाँगीले लिएको भत्ता र खर्च स्वभाविक नभएको बताए । डाँगी तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा २०८० साल चैत्र ९ गतेमा आउनुभएको हो । बाहिरी आवरणमा आर्थिक मितव्ययिको पक्षपोषण गरेको जस्तो देखिएपनि डाँगी आफैले अस्वभाविकरुपमा एकै दिन धेरै रकम भुक्तानी लिनुले आर्थिक पारदर्शीतामा प्रश्न उब्जिएको संयोजक ढकालले बताए ।

उनका अनुसार प्रमुख प्रशासकिय अधिकृत डाँगीले मात्रै होइन्, नगरप्रमुख टिकाराम खड्काका राजनितिक सल्लाहकार खिम बहादुर डाँगीले पनि एकैदिन ३६ हजार ३ सय दैनिक भत्ता र भ्रमण खर्च लिएको प्रतिवेदनमा उल्लेख छ । डाँगीले २०८० मंसिरमा एकैदिन ठुलो रकम भत्ता र खर्च लिएको लेखा समितिले औँल्याएको छ । स्थानीयस्तरमै बढ्दो आर्थिक अनियमितताका घटनाले नागरिकहरूको आक्रोश बढ्दै गएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।