ताजा अपडेट »
मनाङमा आगलागी

चार दिन देखि तिमाङको जङ्गलमा लागेको आगो अझै निभाउन सकिएन

मंगलबार, २२ माघ २०८१, ०५ : २१
36 Shares
मंगलबार, २२ माघ २०८१
36 Shares

मनाङ । मनाङमा शुक्रबार बेलुकीदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । चामे गाउँपालिका–१ स्थित तिमाङ जङ्गलमा शुक्रवारदेखि लागेको आगो सोमबारसम्म पनि नियन्त्रणमा लिन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले आगो निभाउन जिल्लाका तीन वटै सुरक्षा निकाय परिचालन गरिएको भए पनि नियन्त्रणमा लिन नसकिएको जानकारी दिए । उनका अनुसार आगो निभाउने प्रयास जारी नै छ ।

“आगो नियन्त्रणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयसहितका टोलीले आगो नियन्त्रणमा लिने प्रयासमा गरिरहेका छौँ । आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, सम्बन्धित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटेका  छन्”,  प्रजिअ आचार्यले भने, “भिरमा आगलागी भएकाले नियन्त्रणमा लिन समस्या भइरहेको हो ।” अन्यत्र आगो नफैलियोस् भनेर सुरक्षित गर्ने काम गरिसकिएको र बस्तीमा त्यति जोखिम  भने नरहेको उनको भनाइ छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका मनाङका प्रमुख ढकबहादुर भुजेलले यो समय सुख्खा याम भएकाले पनि आगो नियन्त्रण लिन नसकिएको बताए । उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुख्खा याम , वनजङ्गलमा रहेका सुकेका ठुटाले गर्दा पनि आगो लागिरहेको छ ।”

सल्लाको काठ, पातपतिङ्गरले गर्दा आगो बढ्नसक्ने डर पनि रहेको प्रमुख भुजेलले बताउँछन् । उनले भने, “ सुख्खा याम र हावाहुरी चल्ने मौसम भएकाले गर्दा पनि आगो बढ्न सक्छ ।” सोमबारसम्म करिब डेढ हेक्टर क्षेत्रफल वन जङ्गलमा आगलागी भइरहेको भुजेलले जानकारी दिए । उनका अनुसार वन आलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटीसमेत आगलागीले नष्ट हुने जोखिम बढेको छ ।

“आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको वासस्थानमा प्रभाव पार्ने गर्दछ । चराचुरुङ्गी, वन्यजन्तु तथा याक चौँरीका चरन क्षेत्र नाश हुने सम्भावना छ”, कार्यालय प्रमुख भुजेलले भने । उनका अनुसार यस वर्षको मङ्सिरयता ताल, आइस लेक, पिसा भिरमा आगलागी भएको छ ।

यसअघि  विसं २०७७ सालमा मनाङकै जङ्गलमा आगलागी हुँदा उक्त आगो दुई महिनापछि मात्रै नियन्त्रणमा आएको थियो । जसले मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वन जङ्गल नष्ट भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।