दाङ । लुम्बिनी प्रदेश स्थापनाको आठौं दिवस उत्सवको रुपमा मनाइएको छ । प्रदेश सरकार र प्रदेश सभाले संयुक्त कार्यक्रमको आयोजना गरेर स्थापना दिवस उत्सवको रुपमा मनाइएको हो । प्रदेश सभा परिसर राप्ती उपत्यका (देउखुरी) मा भब्य रुपमा आयोजना गरिएको दिवसको मुल समारोहमा विभिन्न समुदायको झाँकी प्रदर्शन गर्नुका साथै मन्त्रालयत स्टलहरु राखेर सरकारले गरेका कामहरु सार्वजनिक गरिएको छ ।
प्रदेशलाई बलियो र स्थापीत बनाउन संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयननै आजको आवश्यकता रहेकोमा जोड दिइएको छ । संघीय शासन व्यवस्था लागु भएपनि प्रदेशलाई बलियो बनाउने सवालमा संघीय सरकारले अधिकार प्रत्यायोजन गर्न ढिला गर्न नहुनेमा जोड दिइएको हो । तीन तहको सरकार मध्य प्रदेश संघीयताको बलियो आधार भएको, संघीय शासनलाई बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा वक्ताहरुको जोड छ ।
लुम्बिनी प्रदेश स्थापना दिवसको उद्घाटन गर्दै प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले जनता बलियो हुने शासन व्यवस्थानै संघीय शासन व्यवस्था भएको बताए । उनले जनताको सेवकको रुपमा जनप्रतिनिधि रहेको भन्दै जनता भन्दा माथि कोही नहुनेमा जोड दिए । ‘जनताको शासन हो । यहाँ जनतानै जनादर्शन हुन’उनले भने, ‘जन भावना अनुसारनै काम कारबाही अघि बढ्नुपर्छ ।’
मुख्यमन्त्री चेतनारायण आचार्यले तीन तहका सरकारका बीचमा प्रदेशलाई अब्बल बनाउन सक्नेगरी लुम्बिनी प्रदेशले उदारण दिन सफल भएको बताए । प्रदेश तहमा अझैं धेरै कानुनहरु तर्जुमाको चरणमा रहेको, सङ्घीय कानुनको निर्माण तथा मापदण्डको तर्जुमाका विषयमा सङ्घीय सरकारसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेको भनाई उनको छ । सङ्घीय सरकारसँगको सहकार्य, स्थानीय तहसँगको समन्वय सहितको सह–सम्बन्धबाटै प्रदेशको कार्य सञ्चालनलाई प्रभावकारी पार्न सकिने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेसका दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशलाई अधिकार सम्पन्न बनाउन संघीय सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।‘गालि हामीले खानुपर्ने, अधिकार काठमाडौंमा राख्नुपर्ने’उनले भने,‘अधिकार तलसम्म पुग्छ भनेर संविधानमा लेखियो । तर, अझैं अधिकार माथिनै रह्यो ।’ प्रदेशलाई बलियो बनाउन अधिकार सम्पन्न बनाइनुपर्ने धारणा उनको छ ।
प्रतिपक्ष दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महराले समृद्ध प्रदेशको लक्ष्य प्राप्त गर्न सबैको विचमा साझा प्रतिबद्धता चाहिने बताए । पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले आफुलाई अब्बल सावित गर्न अझैं ऐतिहाँसिक कामहरुलाई अघि बढाउन आवश्यक रहेको धारणा राखे । नेकपा एमाले संसदीय दल उप–नेता भोजप्रसाद श्रेष्ठले प्रदेश तहमा अझै उत्साह थप्न जरुरी रहेको बताए । राजनीतिक अस्थिरता हटाउदै प्रदेशलाई विकासको लयमा अघि बढाउन सफल प्रयासको थालनि भएको बताएका हुन् ।
प्रदेश स्थाना दिवसमा ११ वटा विभिन्न झाँकीहरु प्रदर्शन गरिएका थिए । जस मध्ये शितगंगा नगरपालिकाको सोरठी भैलो झाँकी पहिलो, पञ्चेबाजा झाँकी गढवा दोस्रो, झुम्रा नाच राप्ती गाउँपालिका र काहरवा नाच राजपुर गाउँपालिकाले तेस्रो स्थान हाँसिल गरेका थिए ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय लगायतले स्टलहरु राखेका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षता तथा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजिकरण आन्तरिक मामिला तथा कानून मन्त्रालयका बरिष्ठ अधिकृत गंगाधर पाण्डेले गरेका थिए ।
प्रतिक्रिया