ताजा अपडेट »

सामाजिक सञ्जाल सम्बन्धि विधेयकले वाक स्वतन्त्रतालाई कुण्ठित गरेको छैन : अर्थमन्त्री पौडेल

आइतबार, २० माघ २०८१, २३ : १२
28 Shares
आइतबार, २० माघ २०८१
28 Shares

बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धि ल्याएको विधेयक वाक स्वतन्त्रता विरुद्ध नभएको स्पष्ट पारेका छन् । पौडेलले नियमन र नियन्त्रण फरक विषय भएको बताउँदै विधेयकमा वाकस्वतन्त्रतालाई नियन्त्रण नभई नियमन मात्रै गर्ने विषय समेटिएको उल्लेख गरे । 

‘हामी वाक स्वतन्त्रताको विरुद्धमा छैनौं । नियमन गर्नु र नियन्त्रण गर्नु एउटै कुरा होइन, त्यसैले विधेयकमा सामाजिक सञ्चालन नियमन गर्ने कुरा मात्रै उल्लेख छन् ।’–अर्थमन्त्री पौडेलले भने, संविधानले नागरिकलाई प्रदान गरेका कुने पनि अधिकारलाई यसले कुण्ठित गरेको छैन ।’ धेरै राजनीतिक आन्दोलन र संघर्षबाट दलहरु अहिलको अवस्थामा आएको उल्लेख गर्दै उनले नागरिक स्वतन्त्रता र अभिव्यक्तिलाई नियन्त्रण गर्नुहुँदैन भन्ने कुरा सरकारले बुझेको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीको विगत, वर्तमान र आगामी योजना बारे जानकारी गराउने उद्देश्यले आइतबार तिलोत्तमामा आयोजना गरिएको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले रुपन्देहीले पत्रकारितामा अलग्गै पहिचान स्थापित गरेको उल्लेख गरे । 

रुपन्देहीमा भएका बिकासका अभ्यास, कमजोरी तथा खोज अनुसन्धानका क्षेत्रमा जोड दिन आग्रह गर्दै उनले महासंघले अगाडि सारेका योजनाहरु पूरा गर्नका लागि आफ्नो तर्फबाट सधै सहयोग रहने आश्वासन दिए । यहाँका सञ्चारकर्मीहरुले रुपन्देहीमा बिकासका लागि गरिएका कामहरुलाई छलफल र बहसको विषय बनाउन आग्रह गर्दै उनले कमजोरीहरुलाई समेत औल्याएर सुधार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए । 

फरक प्रसङ्गमा अर्थमन्त्री पौडेलले सरकारले ल्याएको अध्यादेश अथास्थिती विरुद्धको ठूलो अभ्यास भएको उल्लेख गरे । ‘सरकारले ल्याएको अध्यादेश बास्तवमा यथास्थितीको विरुद्ध धेरै ठूलो अभ्यास हो, सरकारले गरेको सशक्त पहल हो ।’–पौडेलले भने, कानून र नीतिगत सुधारका लागि गर्नै पर्ने काम भएकाले अध्यादेश ल्याइएको हो, आवश्यकताले ल्याइएको हो । वर्तमान सरकारले अप्ठ्यारो परिस्थितीमा नेतृत्व लिएको उल्लेख गर्दै मुलुकलाई साथी ठाउँमा ल्याउन सफल भएको उल्लेख गरे । ‘हामी धेरै अप्ठ्यारोमा जिम्मेवारी लिएका थियौं, अब हामी मुलुकलाई ओरालो लाग्नबाट रोक्यौं ।’–पौडेलले भने, अब यसलाई अगाडि बढाउने हो, गेयर चेन्ज गरेर कति गतिमा अगाडि बढाउने भन्नेमात्रै हो । हामीले अब मुलुकलाई अगाडि बढाउने तयारीमा छौं ।’

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले महासंघको वर्तमान अवस्था र भावि योजना बारे अर्थमन्त्रीलाई जानकारी गराएका थिए । महासंघले अघि सारेका योजनाहरुलाई सफल पार्न सके यहाँका सञ्चारकर्मी तथा सञ्चार गृहका लागि ठूलो सफलता र अवसर सिर्जना हुन सक्ने बताउँदै उनले सरकारकोतर्फबाट सहयोगका लागि आग्रह गरे । महासंघले वार्षिक कार्योजनामा अघि सारेका कार्यक्रमहरु पत्रकारका लागि लेनवृत्ति सञ्चालन, नलेज सिरिज सञ्चालन, कल्याणकारी अक्ष्यकोषमा कोष वृद्धि, रुपन्देहीका बिकास योजनाहरुको बारेमा बहस, पत्रकार महिलाहरुका लागि सुत्केरी भत्ताको व्यवस्था लगायतका योजनामा सरकारले सहयोगको अपेक्षा गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघ रुपन्देहीका सचिव सीपी खनालले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।