ताजा अपडेट »

बुटवलमा नेवार समुदायको सामुहिक ईहि यज्ञ तथा क्येटा पूजा

आइतबार, २० माघ २०८१, १७ : ०६
122 Shares
आइतबार, २० माघ २०८१
122 Shares

बुटवल । नेवारी कन्याहरुको सामुहिक ईहि यज्ञ (बेलबिवाह) तथा बालकहरुको क्येटा पुजा (ब्रतबन्ध) शुरु भएको छ । नेवा परम्परा र संस्कृतिमा महिनावारी हुनुभन्दा अघि कन्याको बेलसँग बिवाह गर्ने प्रचलन अनुसार नेवाः सेवा समिति बुटवल कालिकानगरको आयोजनामा देविनगरस्थित भुपुसैनिक क्लबमा १५ औँ पटक आयोजना भएको हो । 

नेवार पण्डित हरिशरण राजोपाध्यायले आईतबार औपचारिक रुपमा विधिवत पुजापाठ गरि ईहि शुरु गरेका छन् । परिवारबीच बोलिचालीको क्रममा नेवारी भाषालाई प्राथमिकता दिन उनले सुझाव दिए । नयाँ पिढिलाई संस्कृति सिकाउन जरुरी रहेको बताउँदै उनले नेवार समुदायमा महत्वपुर्ण मानिएको ईहि यज्ञ गराएर कन्याहरुलाई धार्मिक, साँस्कृतिक मान्यता अनुसार ज्ञानहरु दिईएको उल्लेख गरे । 

newar pooja

कार्यक्रममा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले यस क्षेत्रमा छरिएर रहेका नेवार समुदायहरुलाई एकतावद्ध गरि भाषा, संस्कृति र संस्कार जगेर्ना हुनेगरि कार्यक्रम गर्दै आएको बताए । समुहमा गर्दा आर्थिक रुपमा सहज हुनुका साथै एक आपसमा परिचय हुनेहुँदा सामुहिक कार्यक्रमको महत्व रहेको उनले बताए । ईहि यज्ञ र क्येटा पुजापछि जीवन पद्दतीको नयाँ चरण शुरु हुने भएकाले पनि महत्व रहेको समितिका सचिव सारदा श्रेष्ठले बताईन । 

दुई दिनसम्म चल्ने कार्यक्रममा रुपन्देहीसहित काठमाडौ, दाङ, पाल्पा, अर्घाखाची लगायत क्षेत्रबाट ५१  कन्या, १५ बटुकहरु सहभागी भएको कार्यक्रम संयोजक लिला प्रसाद श्रेष्ठले बताए । भुपुसैनिक हलबाट निकालिएको प्रभातफेरी देविनगर नेवा भवन हुँदै कालिकानगर होराईजन चोक हुँदै पुन भुपुसैनिकमै पुगेर समापन भएको महिला संयोजक लिला ध्वजुले बताईन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।