अमेरिका । बुद्वसँग सम्बन्धित स्थलहरु रहेका नगरपालिकाका जनप्रतिनिधि तथा अधिकारीहरुले अमेरिकाका विभिन्न ठाउँहरुमा अन्तर संवाद गर्ने भएका छन् । सामुहिक रुपमा अमेरिका भ्रमण गर्दै उनीहरुले बुद्वसँग सम्बन्धित स्थलहरुको प्रचार प्रसारका लागि अन्तरसंवाद गर्ने भएका हुन् ।
आउँदो मार्चमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, रामग्राम नपरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धु्रव प्रसाद खरेल, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल सरकारका उपसचिव रामप्रसाद ज्ञवाली लगायत अमेरिका आउन लागेका हुन् ।
उनीहरुको अमेरिका भ्रमणको सहजीकरण गर्दै आएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष एवं पर्यटन विभाग प्रमुख नेत्र पाण्डेले जनप्रतिनिधि एवं अधिकारीहरुले अमेरिकामा आई गर्ने छलफल र अन्तरसंवादले पर्यटन प्रवद्र्दनमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे । भ्रमणमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमान पनि आउने योजना रहेपनि उहाँको स्वास्थ्य अवस्थामा भर पर्ने उपाध्यक्ष पाण्डेले बताए ।
बुद्व परिपथसँग सम्बन्धित स्थानका प्रमुख र अधिकारीहरुको अमेरिका भ्रमणका क्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अन्तरसंवादको कार्यक्रम तय गरिएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका अन्तराष्ट्रिय सम्बन्ध प्रवद्र्दक तुल्सीराम लामिछानेले बताए ।
प्रमुख र अधिकारीहरुको भ्रमणको क्रममा अमेरिकाका रहेका नगरका प्रमुख तथा नगरहरुले गरिरहेका कामको बारेमा समेत जानकारी गराउनका लागि यहाँका सिटीहरुका प्रमुख तथा अधिकारीहरुसँग पनि समय मिलाउन लागिएको सिटी अफ युलेसका प्रो टम मेयर टिका पौडेलले बताए ।
प्रतिक्रिया